ओलीको खल्तीमा बैठकका एजेण्डाहरू : उषा र विन्दाबारे नेताहरू बोल्नुको साटो चिन्तित
काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठक जारी छ । आज (बिहीबार) दिउँसो १२ः०० बजे पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा उक्त बैठक बसेको छ ।
आगामी २१ र २२ गते केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ । केन्द्रीय समिति बैठकका लागि अगाडि सारिने एजेण्डा तय गर्न सचिवालय बैठक बसेको छ ।
यसबाहेक अन्य एजेण्डाबारे आफूहरूलाई कुनै जानकारी नै नभएको एमालेका एक नेता बताउँछन् । उनले भने, ‘आज समसामयिक राजनीतिक घटनाक्रम र त्यसको समीक्षा, सरकारको कामकारबाहीबारे सामान्य छलफल र केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने एजेण्डाबाहेकबारे निर्णय हुनेबाहेक अरु जानकारी छैन ।’
पुस १० गते बसेको सचिवालय बैठकले एमालेका पुराना नेता भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ भने उषाकिरण तिम्सिना र विन्दा पाण्डेलाई ६ महिनासम्मका लागि पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको छ ।
यद्यपि आजको बैठकमा यसअघि जिम्मेवारी खोसिएका दुवै नेत्रीबारे कुनै पनि नेताले आफ्नो धारणा नराखेको एक नेताले बताए । ‘चिन्ता सबैलाई लागेको छ । सँगै पार्टीको काम गरेको नेतालाई हटाउनु र जिम्मेवारी खोस्नु राम्रो होइन । तर, खोसियो के गर्ने, बोल्न गाह्रो छ,’ उनी भन्छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस