सौर्य एयरलाइन्सको दुर्घटना: तौलको सन्तुलन नमिल्नुलाई प्रारम्भिक कारण
सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अध्ययन गर्न गठित समितिले आफ्नो प्रारम्भिक प्रतिवेदनमा विमानमा तौलको सन्तुलन (लोड ब्यालेन्स) नमिलेको कारण देखाएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार, तौल र टेकअफको गति उचित रूपमा मेल नखाएका कारण विमानले उचाइ लिन नसकेको निष्कर्ष निकालिएको छ।
प्रारम्भिक प्रतिवेदनमा, मर्मतका लागि विमानमा राखिएका सामग्री नबाँधेर राखिएकाले र तौलको सन्तुलन नमिलाएपछि टेकअफ गर्दा सामानहरू सरेर सन्तुलन बिग्रिएको निष्कर्ष पनि गरिएको छ। प्रतिवेदनमा विमानको इन्जिनमा कुनै खराबी नदेखिएको बताइएको छ। टेकअफ गर्दा विमानमा ब्यागेजसहित १८,१३२ किलो तौल थियो, जसमा थप २००० किलो इन्धन पनि थियो।
प्रतिवेदनमा 'टेकअफ वेट'का लागि तोकिएको विमानको गति (भी स्पिड) नै गलत दिइएको पनि औंल्याइएको छ। मर्मतका लागि उडेको विमानलाई दिइएको अनुमतिको कार्यविधि समेत पालना नगरिएको उल्लेख गरिएको छ।
समितिले प्रारम्भिक रूपमा पाँचवटा विषय अनुसन्धानका लागि तय गरेको थियो, जसमा जहाजको तौल र सन्तुलन, टेकअफ गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष, र सेफ्टी म्यानेजमेन्ट प्रणाली समावेश छन्। प्रतिवेदनमा उडानअघि विमान ३४ दिनसम्म ग्राउण्डेड गरिएको पनि उल्लेख गरिएको छ।
साउन ८ गते पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको ९ एन–एनएएमई कलसाइन नम्बरको सिआरजे–२०० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गरेपछि परिसरभित्रै दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर १८ जनाको ज्यान गएको थियो, जसमा सौर्य एयरलाइन्सका प्राविधिक तथा कर्मचारी, एक बालक, र तीन जना चालक दलका सदस्य थिए। दुर्घटनामा परेका पाइलटलाई घाइते अवस्थामा उद्धार गरिएर उपचारपछि घर फर्काइएको छ।
यस दुर्घटनाको अध्ययनका लागि सरकारद्वारा रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको थियो। समितिले प्रारम्भिक प्रतिवेदन तयार गरेको छ, जसमा दुर्घटनाग्रस्त जहाजको कागजी प्रक्रिया तथा सामान्य प्राविधिक परीक्षण समावेश छन्। विस्तृत प्राविधिक अनुसन्धान भने अन्तिम प्रतिवेदनका लागि हुन बाँकी रहेको उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस