थप अधिकारका लागि समर्पित हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली : अध्यक्ष दाहाल
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप अधिकारका लागि समर्पित हुनु नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।
सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै उनले देश र जनताको हक अधिकारका लागि जीवन बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दै घाइते योद्धाहरूको स्वास्थ्य लाभको कामना पनि व्यक्त गरेका छन् ।
माघ १६ लाई नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि जीवन बलिदान गर्ने सहिदहरूप्रति विशेष सम्मान प्रकट गर्ने दिनका रूपमा लिइन्छ। अध्यक्ष दाहालले यो दिनलाई सहिदहरूले देखेका सपना र अठोटलाई पूरा गर्न संकल्प गर्ने दिनको रूपमा वर्णन गरेका छन् ।
राज्यको तहबाट सहिद दिवस मनाउनु सहिदहरूको योगदानको कदर हो भन्दै उनले सहिद परिवारहरूको उचित सम्मान, संरक्षण, र अभिभावकत्व प्रदान गर्नु नै सहिदहरूप्रतिको सच्चा सम्मान हुने बताएका छन् ।
नेपालका प्रथम सहिद लखन थापामगरदेखि राणा शासनविरुद्धको आन्दोलन, विसं २००७ को परिवर्तन, जनआन्दोलन, पहिचान र अधिकारका लागि भएका विभिन्न वर्ग, जाति, क्षेत्र र समुदायको संघर्षकै कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गरेका छन् ।
उनले विसं २०७२ मा जारी संविधानले यो व्यवस्था संस्थागत गरेको भन्दै संविधानको इमानदार कार्यान्वयनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस