त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र मालाले सुरक्षा उपकरणमा समस्या, यात्रुलाई साथमा नल्याउन आग्रह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले खादा र मालाले सुरक्षा जाँच उपकरणमा समस्या ल्याएको भन्दै यात्रुलाई बाहिर देखिने गरी नल्याउन आग्रह गरेको छ। विमानस्थलले बिहीबार एक सूचना जारी गर्दै यात्रुहरूलाई खादा र माला लगाएर वा ब्यागमा झुन्ड्याएर नल्याउन आग्रह गरेको हो।
विमानस्थलको सुरक्षा जाँच उपकरणहरू, जस्तै एक्सरे मेशिन, कन्भेयर बेल्ट, र स्केलेटरमा खादा र माला अड्किएर बिग्रिने समस्या भइरहेको विमानस्थल प्रशासनले जनाएको छ। साथै, यात्रुहरूले विमानस्थलका विभिन्न स्थानमा खादा र माला छाडेर जाने गरेकोले विमानस्थलको सौन्दर्यमा पनि नकारात्मक असर परेको सूचनामा उल्लेख गरिएको छ।
कार्यालयले यात्रुहरूलाई खादा र माला आफैंसँग लैजानै परे झोलाभित्र नदेखिने गरी राखेर मात्र ल्याउन अपिल गरेको छ, ताकि सुरक्षा जाँचका क्रममा समस्या नहोस् र विमानस्थलको सौन्दर्य पनि कायम रहोस्।



तपाईको प्रतिक्रिया दिनुहोस