अध्यादेशप्रति सत्तारूढ कांग्रेस सांसदहरूको असहमति, संसदीय दलको बैठक निष्कर्षबिहीन
काठमाडौं । प्रमुख सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक निष्कर्षबिहीन भएको छ । आज (शुक्रबार) बिहान बसेको उक्त बैठक निष्कर्षबिहीन भएको हो ।
संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा पार्टीका सांसदहरूले अध्यादेशप्रति ‘अब्जेक्सन’ देखाएपछि बैठक निष्कर्षबिही भएको स्रोतले बतायो । संसद् बन्धक बनाएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाले यसअघि शृंखलाबद्ध अध्यादेश ल्याएका थियो ।
अध्यादेशहरू संसद्बाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उक्त व्यवस्था अनुसार आज बस्ने संसद् बैठकमा ओली सरकारले ल्याएका अध्यादेश टेबुल गरिँदैछ ।
तर, प्रमुख सत्तारूढ कांग्रेसका केही सांसदले अध्यादेशमा नियत देखिएको भन्दै टेबुल गर्न नदिने अडान राखेको स्रोतको दाबी छ । अधिकांश सांसद अध्यादेशकै पक्षमा भएपनि केही सांसद भने अध्यादेशको विपक्षमा उभिने निष्कर्षसहित बैठकमा उपस्थित भएपछि बैठक निष्कर्षबिहीन भएको हो ।
तद्यपि कांग्रेस–एमालेका मन्त्री र सांसदहरूले यसअघि नै अध्यादेशको पक्षमा एकतावद्ध भएर उभिने निर्णय गरिसकेका छन् । ओली सरकारले ६ वटा अध्यादेश र ३२ वटा विधेयक ल्याएको छ ।
तर, कांग्रेस संसदीय दलको बैठकमा आफ्ना अभिव्यक्ति राख्ने सांसदहरूको सूची लम्बिएपछि बैठक स्थगित गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । उनका अनुसार अर्को बैठक २४ गते बिहान बस्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस