बागलुङ जिप दुर्घटनामा रुकुमकी उपाध्यक्ष भुपेन्द्रा बुढामगर सहित वडा अध्यक्षको निधन
बागलुङको गलकोट नगरपालिका–२ भुङखानीमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको निधन भएको छ। उक्त दुर्घटनामा उनकी आमा गोपीमाया बुढा र पुथाउत्तरगंगा–२ का वडाअध्यक्ष जसबहादुर सिर्पालीको पनि ज्यान गएको छ।
उपाध्यक्ष बुढा काठमाडौंबाट आमाको उपचार गराएर गाउँ फर्किंदै थिइन्। आफ्नो र आमाको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं गएकी बुढा घर फर्कने क्रममा दुर्घटनामा परिन्। गाउँपालिका अध्यक्ष पुनीराज घर्तीका अनुसार उपाध्यक्ष बुढामगर भदौ १७ गते दाँतको उपचारका लागि काठमाडौं गएकी थिइन्। "स्वास्थ्य उपचार सकेर गाउँ फर्किंदै गर्दा दुर्घटना भयो," अध्यक्ष घर्तीले बताए।
उपाध्यक्ष बुढामगरका ११ वर्षीय छोरा काठमाडौंमा बसेर पढिरहेका छन् भने उनी गाउँमा आमा र भाइसँग बस्दै आएकी थिइन्। स्थानीयले उपाध्यक्ष बुढामगरको निधनले गाउँपालिकालाई ठूलो क्षति पुगेको बताएका छन्। पालिकामा उपाध्यक्षको जिम्मेवारी सम्हाल्दा उनले गर्भवती महिला र किशोरीहरूको हितमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न जोड दिएको वडा ५ का अध्यक्ष टीकासाई घर्तीले बताए।
उपाध्यक्ष बुढामगर पछिल्लो समयमा "नेपाली महिला जनप्रतिनिधिको सु–कर्मलाई संचार गर्ने अभियान शी लिड्स आईकन" मा छनोट भएकी थिइन्। उनी माओवादी केन्द्रको भातृ संगठन वाईसीएलको केन्द्रीय सदस्य र मगर युवा संघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा पनि थिइन्।
साथै, दुर्घटनामा निधन भएका वडा २ का अध्यक्ष जसबहादुर सिर्पाली पहिलोपटक वडाध्यक्ष निर्वाचित भएका थिए। उनी यार्चागुम्बा पाइने क्षेत्र र ढोरपाटन शिकार आरक्षको विकासका लागि चिन्तित व्यक्ति रहेको स्थानीयले बताएका छन्। सिर्पाली दलित समुदायबाट वडाध्यक्ष निर्वाचित भएका थिए र निम्न वर्गीय समुदायका लागि डटेर काम गर्ने नेता थिए।
दुर्घटना भएको पिकअप जिप रा१झ २०० नम्बरको रहेको र उक्त जिप ३०० मिटर तल खसेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस