Techie IT
२०८२ वैशाख १९, शुक्रबार

ट्रम्प–पुटिन संवादबारे चीन खुसी, शिखर सम्मेलन प्रस्ताव अस्वीकार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग वार्ता गर्ने अपेक्षा व्यक्त गरेपछि चीनले बिहीबार अमेरिका र रुसबीचको बढ्दो संवादप्रति खुशी व्यक्त गरेको छ ।

ट्रम्पले बुधबार पुटिनसँग ‘लामो र अत्यन्तै उत्पादनशील’ कुराकानी गरेको र दुवै नेताले युद्ध अन्त्यका लागि वार्ता तुरुन्तै सुरु गर्न सहमति जनाएको जानकारी दिए । ह्वाइट हाउसमा पुनः प्रवेश गरेपछि यो दुई नेताबीचको पहिलो औपचारिक सम्पर्क भएको बताइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “रूस र अमेरिका विश्वका प्रभावशाली राष्ट्र हुन् । उनीहरूबीचको संवाद बलियो बन्नु सकारात्मक कुरा हो, चीन यसलाई स्वागत गर्छ ।”

बेइजिङ र वासिङ्टनका उच्च स्रोतहरूलाई उद्धृत गर्दै वाल स्ट्रीट जर्नल ले रिपोर्ट गरेको छ कि चीनले हालै मध्यस्थहरूमार्फत ट्रम्प–पुटिन शिखर सम्मेलनको प्रस्ताव राखेको थियो ।

उक्त प्रस्तावले सम्भावित युद्धविरामपछि शान्ति स्थापनालाई सहज बनाउन मद्दत गर्ने उद्देश्य राखे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई समावेश नगर्ने योजना रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।

तर, ह्वाइट हाउसका एक अधिकारीले बेइजिङको प्रस्तावलाई ‘पूर्णतया अव्यावहारिक’ भन्दै अस्वीकार गरेको वाल स्ट्रीट जर्नलले उल्लेख गरेको छ ।

प्रेस ब्रिफिङमा यसबारे प्रश्न उठ्दा प्रवक्ता गुओले आफूसँग सो सम्बन्धी कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

चीन र रूसबीच लामो समयदेखिको उतारचढावपूर्ण सम्बन्ध रहे पनि हालका वर्षहरूमा कूटनीतिक, सैन्य, तथा आर्थिक क्षेत्रमा उनीहरूको सहकार्य बढ्दै गएको छ ।

सन् २०२२ मा रूसले युक्रेनमाथि पूर्ण आक्रमण थालेदेखि नै चीनले आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गर्ने प्रयास गरेको छ। तर, अमेरिका तथा पश्चिमी राष्ट्रहरूले रूसको समर्थन गरेको आरोपमा चीनको आलोचना गरेका छन् ।

ट्रम्प पुनः सत्तामा फर्किएपछि अमेरिकाको युक्रेन सम्बन्धी नीति कस्तो हुनेछ भन्ने अनिश्चितता थपिएको छ।

चीनले वार्ताबाटै युक्रेन संकट समाधान हुनुपर्ने बताउँदै आएको छ। प्रवक्ता गुओले थप्नुभयो, “चीनले सधैँ विश्वास गरेको छ कि संवाद र वार्ता नै समस्याको समाधान हो। हामी शान्ति वार्ता प्रवद्र्धन गर्न प्रतिबद्ध छौँ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट