महिला सशक्तिकरणमा सहकारीको भूमिका: आत्मनिर्भर बन्दै दाङका महिलाहरू
दाङका महिलाहरू सहकारी संस्थाहरूको सहायताले आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन् । घरायसी काममै सीमित रहँदै आएका महिला अहिले सहकारीमा आबद्ध भई बचत गर्ने, ऋण लिने र स्वरोजगार बन्ने अवसर पाइरहेका छन् ।
घोराही उपमहानगरपालिका–१३ वनगाउँस्थित ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध भएका महिलाहरू अहिले कृषि व्यवसायमार्फत राम्रो आम्दानी गरिरहेका छन् । यही सहकारीका सदस्य निशा रोका सात वर्षदेखि संस्थामा बचत गर्दै व्यवसाय गर्दै आउनुभएको छ। उनले भने, “संस्थामा बचत गरेको रकम आवश्यक परेको बेला निकाल्न सकिन्छ, जसले आर्थिक संकट टार्न मद्दत गर्छ ।”
उनले मासिक रूपमा रु १,००० बचत गर्ने गरेको र कृषि व्यवसायबाट राम्रो आम्दानी भइरहेको बताए । “समयमै तरकारी उत्पादन गर्न सके राम्रो नाफा हुन्छ,” उनले थपे। अहिले टमाटर बिक्री गरेर मासिक ३०–३५ हजार जोगाउन सफल हुनुभएको छ ।
त्यस्तै, मनकुमारी घर्तीले सहकारीको सहुलियत ऋण लिई १० कठ्ठा जमिनमा आलु, टमाटर र प्याज खेती गर्दै आउनुभएको छ । उनले भनिन्, “कृषिमा आम्दानी गर्न मेहनत अनिवार्य छ । आफैं खटिएर काम गरे राम्रो आम्दानी हुन्छ।” सहकारी ऋणले उहाँ जस्तै धेरै महिलालाई व्यवसायमा सहयोग पुगेको छ ।
ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्थाका सचिव रामकली घर्तीका अनुसार संस्था १२ वर्षदेखि सञ्चालनमा छ र हाल ७५० जना महिला सदस्य आबद्ध छन् । संस्थाले महिलाहरूलाई कृषि, उद्यमशीलता र आपसी सहयोगका कार्यक्रमहरू प्रदान गर्दै आएको छ ।
सहकारी सदस्यहरूले मासिक रु २०० देखि २,००० सम्म बचत गर्ने गरेका छन् भने, सहकारीमार्फत रु १.५ लाखसम्म ऋण लगानीको व्यवस्था गरिएको छ । सहकारीले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउने मात्र होइन, आपसी सद्भाव र सहकार्यको संस्कार समेत विकसित गरिरहेको छ ।
महिलाहरूले सहकारीमा जोडिएर कृषि, साना व्यवसाय, पशुपालन लगायतका क्षेत्रमा संलग्न भई आत्मनिर्भर बन्दै गएका छन् । “खाली बस्नुको सट्टा केही नगरी आम्दानी गर्न सम्भव छैन। कृषि व्यवसाय राम्रो आम्दानीको स्रोत हुन सक्छ,” मनकुमारी घर्तीले बताइन् ।
यसरी, सहकारी संस्थाहरू महिलाहरूको आर्थिक सबलीकरणको महत्वपूर्ण माध्यम बनेका छन् । बचत, ऋण र व्यवसायिक ज्ञानको सहायताले महिलाहरू स्वरोजगार बन्न सफल भएका छन्, जसले गाउँघरमा समृद्धिको आधार निर्माण गरिरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस