अब डिजिटल प्रविधिमा मनकामना केबलकार सञ्चालनमा
मनकामना केबलकार आजदेखि पुनः नियमित रूपमा सञ्चालनमा आउने भएको छ। मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो केबलकार अब डिजिटल प्रविधिमा रुपान्तरण गरिएको छ। गत असार ३१ गतेदेखि केबलकारको स्तरोन्नति र मुख्य तारको लट्ठा परिवर्तनका लागि सेवा बन्द गरिएको थियो। २६ वर्षदेखि एनालग प्रविधिमा सञ्चालन हुँदै आएको केबलकारलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ।
मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकहरूको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रूपान्तरणको कार्य सम्पन्न भएको जानकारी दिए।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने भक्तजनहरूको सुविधाका लागि विसं २०५५ मंसिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको थियो। यस केबलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँपालिका-४, चेरेसमा रहेको छ, जुन मनकामना मन्दिरसम्म यात्रा गर्ने प्रमुख मार्ग हो।
डिजिटल प्रविधिमा अपग्रेड भएपछि केबलकारको सञ्चालनमा थप सहजता, सुरक्षा र दक्षता वृद्धि हुने अपेक्षा गरिएको छ, जसले गर्दा यात्रुहरूलाई अझ सुरक्षित र सरल अनुभव प्रदान हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस