प्रधानमन्त्री ओलीले खुम्बु हिमताल विस्फोटबाट भएको क्षतिको जानकारी लिए

प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामेखोलामा गत साउन ३२ गते भएको हिमताल विस्फोटबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे जानकारी लिएका छन्। घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्चाधिकारीहरूले आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई सो विवरण अवगत गराएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले खुम्बु पासाङल्हामु गाउँपालिकामा हिमताल विस्फोटबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिएपछि केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णयहरू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्न, राहत, बिजुली, टेलिफोनलगायत अत्यावश्यक सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ। साथै, क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे विभिन्न क्षेत्रका विषयविज्ञको संयुक्त टोलीबाट अध्ययन गर्नुपर्ने र पुनः निर्माणको कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने जनाइएको छ ।
विस्फोटपछिको बाढी र पहिरोका कारण १७ घर र एक विद्यालय ध्वस्त भएको थियो। दिउँसोको समयमा घटना भएको र पूर्वसूचना प्रणाली अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ।
तपाईको प्रतिक्रिया दिनुहोस