विवाहेतर सम्बन्धको परिणति: आमा-छोराको हत्या प्रकरणको पर्दाफास

उदयपुर कटारी नगरपालिका–१०, सोरुङछविसेमा दुई साताअघि घरभित्रै मृत भेटिएका आमा-छोराको हत्यारा पत्ता लागेको छ। १५ दिनअघि मृत भेटिएका ३८ वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुस थापाको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सोही ठाउँका ३१ वर्षीय ताराबहादुर मगर रहेको प्रहरीको भनाइ छ। लामो समय अपराधी पत्ता नलागेपछि संलग्नताको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले सफ्ट र हार्ड कर्नरबाट अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा मगरले अपराध स्वीकार गरेपछि घटनामा प्रयोग भएको खुकुरी र मृतकको फुटेको मोबाइलसमेत फेला पारेको प्रहरीले जनाएको छ। खुकुरी उनले लुकाई राखेको थियो भने मोबाइल खोलामा फ्याँकिएको अवस्थामा फेला परेको हो।
प्रारम्भिक अनुसन्धानअनुसार, ताराबहादुर मगर र निर्मला थापाबीच विवाहेतर सम्बन्ध रहेको खुलेको छ। निर्मलाका श्रीमान् अशोक थापा २ वर्षअघि दोस्रो विवाह गरेर भारतमा बस्दै आएका थिए, जसले गर्दा निर्मला आफ्ना नाबालक छोरासहित पसल गर्दै आएकी थिइन्। मगर र निर्मलाबिचको नजिकको सम्बन्धका कारण मगरकी श्रीमती र निर्मलाबीच विवादसमेत भएको प्रहरीले बताएको छ।
गत भदौ २० गते, सोरुङछविसे वडा कार्यालय परिसरको खाजा पसलमा आमा-छोरा मृत भेटिएका थिए। स्थानीयहरूले बिहान रक्ताम्मे अवस्थामा उनीहरूलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस