वर्षाले गण्डकी र सुदूरपश्चिम प्रदेशका २७ जिल्लामा उच्च जोखिममा

आजदेखि मनसुन पुनः सक्रिय भएसँगै देशभर वर्षा हुने मौसम पूर्वानुमान गरिएको छ। पछिल्लो केही दिनको चर्को घामले सताएका जनताका लागि वर्षाले राहत दिने भए पनि कृषि क्षेत्रमा भने यसले नकारात्मक असर पार्ने सम्भावना छ। विशेष गरी तयार भएको बालीनालीमा यसले चुनौती सिर्जना गर्नेछ।
जल तथा मौसम विज्ञान विभागको अनुसार, असोज ८ देखि १२ गतेसम्म मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले सबै प्रदेशमा वर्षा हुनेछ। मंगलबारदेखि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनेछ भने केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ।
बुधबारदेखि मनसुनको प्रभाव अझै बढ्ने देखिएको छ। यस दिन पनि देशभरका केही स्थानमा वर्षा जारी रहनेछ। सुदूरपश्चिम र कोशी, बागमती, गण्डकी, लुम्बिनी लगायतका विभिन्न स्थानहरूमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।
वर्षाले विशेषतः गण्डकी र सुदूरपश्चिम प्रदेशका २७ जिल्लामा उच्च जोखिम थपेको छ। यी जिल्लाहरूमा बाढी, पहिरो र भूक्षयको खतरा छ। तराईका क्षेत्रमा डुबान र नदी-नालामा पानीको सतह बढ्ने सम्भावनाले जोखिम थपिएको छ।
महाशाखाले कृषि तथा अन्य गतिविधिमा संलग्न सबैलाई सतर्कता अपनाउन र मौसमको नियमित अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस