सङ्घीय शासन प्रणाली मजबुत बनाउन तीनवटै सरकार एकताबद्ध हुनुपर्छ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य हुन सके मात्रै नागरिकले वास्तविक रूपमा सङ्घीयताको अनुभूति गर्न सक्ने बताएका छन्।
धनगढीमा नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालको सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले संविधानप्रदत्त अधिकार र व्यवस्थाको परिपालना गर्दै आपसी सहकार्यमार्फत सङ्घीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिए।
“प्रदेशको विकास र समृद्धिका लागि स्थानीय तहसँगको सहकार्य अपरिहार्य छ। स्थानीय तहका समस्या, आवश्यकता र सुझावलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ सम्बोधन गर्नेछ। त्यसका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ,” मुख्यमन्त्री भट्टले भने।
कार्यक्रममा सङ्घीयताका जानकार खिमलाल देवकोटाले प्रदेश र स्थानीय तहबीचको सुदृढ समन्वयले शासन प्रणालीलाई थप प्रभावकारी बनाउने धारणा व्यक्त गरेका थिए । उनले स्थानीय तहका आवश्यकता र प्राथमिकतालाई प्रदेश तथा सङ्घीय सरकारका नीति तथा कार्यक्रमसँग अभिन्न रूपमा जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस