Techie IT
२०८२ भाद्र १७, मंगलबार

माओवादीभित्र गुटबन्दी र अराजकता सह्य हुँदैन - प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र गुटबन्दी र अराजक व्यवहार कुनै पनि हालतमा सह्य नहुने बताएका छन्।

सोमबार साँझ सम्पन्न एशिया प्रदेश संगठन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनवादको अभ्यास गर्दै केन्द्रीयता कायम गर्ने प्रयास भइरहेको बताए। उनले नेता–कार्यकर्ताले आ–आफूलाई लागेको विषय पार्टीका आन्तरिक बैठकहरूमा खुला रूपमा राख्दै अनुशासन पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

अनुशासनको अर्थबारे स्पष्ट पार्दै उनले आन्तरिक बैठकमा जो–सुकैले विचार राख्न पाउने र स्वस्थ बहसको वातावरण बनाउनुपर्ने बताए। पार्टीलाई व्यवस्थित र अनुशासित बनाउन सबैको भूमिका जरुरी भएको उनले उल्लेख गरेका थिए ।

प्रचण्डले पार्टीलाई जनतामैत्री, सङ्गठित र एकीकृत बनाउँदै पुनः जनविश्वास आर्जन गर्न सबै कार्यकर्तालाई आह्वान गरेका छन् । “हामी फेरि अभियानमा जाँदैछौँ। हरेक क्रान्तिकारी कमरेडले पार्टी एकताका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्छ,” उनले भने।

त्यस क्रममा उनले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् । आफू प्रधानमन्त्री भएको बेला भारत भ्रमणका क्रममा लिपुलेक र कालापानीबारे भारतीय प्रधानमन्त्रीसँग संवाद गरी सार्वजनिक घोषणा गराएको स्मरण गर्दै उनले भने, “सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ।”

प्रचण्डले प्रवासी क्षेत्रमा सक्रिय नेताकार्यकर्तालाई पार्टीको मूलधारमा ल्याउन विशेष प्रयास भइरहेको बताएका थिए । उनले भने, “पछिल्लो स्थायी समितिको निर्णयअनुसार विभिन्न प्रदेशमा बैठक बसेका छौँ। यो पाँचौँ प्रदेशको बैठक हो। छिट्टै प्रवासी साथीहरूको विचार सुन्न अन्तरक्रियात्मक बैठक बस्ने प्रतिबद्धता व्यक्त गर्दछु। हाल प्रवासमा ठूलो संख्यामा जनशक्ति रहेका हुँदा प्रदेश संरचना बढाउने र प्रवासलाई महत्त्व दिने तयारी भइरहेको छ।”

उनले प्रवासी जनशक्तिलाई बेवास्ता गरेर पार्टी अघि बढ्न नसक्ने स्पष्ट गर्दै, “मध्यपूर्व र एसियामा रहेका कार्यकर्ताको योगदानप्रति पार्टी आभारी छ,” भनेका छन् । साथै, संगठन विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

देशभरका विभिन्न अभियानमा जाँदा पार्टी नेतृत्वप्रति जनतामा मात्र नभई विपक्षी दलका नेताहरूमा समेत भरोसा रहेको उनले दाबी गरे। “केहीले कांग्रेस, एमाले र माओवादी एउटै हुन् भन्न खोजे पनि आम जनताले माओवादी केन्द्र जनताको पक्षमा उभिएको पार्टी हो भन्ने महसुस गरेका छन्,” उनले भने ।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा प्रवासी नेपालीको पक्षमा गरेका कार्यहरूको स्मरण गर्दै वर्तमान सरकारले नागरिकता दिने निर्णय कार्यान्वयनमा लापरबाही गरेको भन्दै आलोचना गरे।

उनले माओवादी केन्द्रले विगतमा सामाजिक न्याय, सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा खेलेको भूमिकालाई जनताले सकारात्मक रूपमा लिएको दाबी गर्दै, आगामी दिनमा अझ प्रभावकारी सुधार र अभियानका लागि तयारी रहन निर्देशन दिएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट