Techie IT
२०८२ भाद्र १९, बिहीबार

कांग्रेस उपलब्धि जोगाउन असफल, माओवादी वैचारिक क्षयीकरणमा – ओली


नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् ।

उनीले पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गर्न लागेको राजनीतिक प्रतिवेदनमार्फत यी दुवै दलको राजनीतिक भूमिका र वर्तमान अवस्थाबारे मूल्यांकन गरेका हुन् ।

कांग्रेसबारे

प्रतिवेदनमा नेपाली कांग्रेसलाई ‘टेस्टेड शक्ति’का रूपमा चित्रित गरिएको छ । नेपालको पुरानो र प्रजातान्त्रिक आन्दोलनमा सकारात्मक योगदान पुर्‍याएको दल भए पनि कांग्रेसले मुलुकलाई समृद्ध र स्थिरतर्फ लैजान नसकेको ओलीको मूल्याङ्कन छ ।

प्रतिवेदनमा भनिएको छ, “सात सालपछि क्रान्तिकारी शक्तिहरूलाई समेटेर आन्दोलनको रक्षा गर्न नसक्नु, २०१५ सालको निर्वाचनमा दुई-तिहाइ बहुमत पाउँदा पनि उपलब्धि सुरक्षित गर्न नसक्नु, २०४८ र २०५६ सालमा दुई–दुई पटक बहुमत पाएर पनि आफ्नै अन्तरकलहका कारण सरकार गुमाउनु, यी सबैले प्रजातन्त्रलाई नै राजाको हातमा पुर्‍याउने अवस्था बनाएको हो ।”

यसकारण कांग्रेस लोकतन्त्रको रक्षा र राज्य सञ्चालनमा असफल भइसकेको, र अब ‘परिक्षण भइसकेको शक्ति’ मात्र बनेको प्रतिवेदनमा उल्लेख छ ।

माओवादीबारे

ओलीको राजनीतिक प्रतिवेदनले नेकपा माओवादी केन्द्रलाई अझ तीव्र रूपमा आलोचना गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, “जनताको बहुदलीय जनवादको ‘एण्टिथेसिस’का रूपमा प्रचण्डले अघि सारेको सशस्त्र युद्ध, सेना बिनाको पार्टी सम्भव छैन भन्ने आग्रह, बहुदलीय प्रतिस्पर्धा अस्वीकार गर्दै एकदलीय अधिनायकत्वको सोच—यी सबै प्रयोग असफल भइसकेका छन् । ‘प्रचण्डपथ’लाई अब माओवादी नेताहरूले पनि उपयोग गर्न सकेका छैनन् । शान्ति प्रक्रियामा आइसकेपछि अगाडि सारिएका सत्ता कब्जा, सेनामा समूहगत समायोजन, जातीय राज्य लगायत माओवादीका प्रायः सबै एजेण्डा असफल भएका छन् ।”

प्रतिवेदनमा माओवादी केन्द्रलाई वैचारिक, साङ्गठनिक र चारित्रिक हिसाबले क्षयीकरण भएको दलका रूपमा चित्रण गरिएको छ । अस्थिरता, अवसरवाद, विभाजनकारी सोच र भ्रष्ट प्रवृत्तिले गर्दा माओवादी आज ‘नेतृत्व प्रतिस्पर्धाबाट बाहिरिएको’ ओलीको मूल्याङ्कन छ ।

प्रतिवेदनमा “हङ् पार्लियामेन्ट” अर्थात् स्पष्ट बहुमत नभएको संसदका कारण सत्ताको लाभ लिन सक्ने अवस्था भने माओवादीका लागि जारी रहेको उल्लेख छ । तर वैचारिक राजनीतिक नेतृत्व गर्ने मूल प्रतिस्पर्धाबाट भने माओवादी बाहिरिएको दाबी गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट