Techie IT
२०८२ भाद्र २३, सोमबार

कसले बिगार्यो जेनजीको शान्तिपूर्ण आन्दोलन ?

सोमबार सुरक्षाकर्मी संयमित देखिए पनि संसद भवनमा आगजनी र गेट चढ्ने गतिविधि सुरु भएपछि मात्रै बल प्रयोग भएको थियो।


सूचीकृत नभएको बहानामा सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध कलेज ड्रेसमै शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने युवा पुस्ताको प्रयास पहिलो दिनमै राजनीतिक स्वार्थका कारण हिंसात्मक मोडमा पुगेको छ।

सामाजिक सञ्जालमार्फत सोमबार स्वतःस्फूर्त रूपमा विरोध प्रदर्शनको आह्वान गरिएको थियो। आन्दोलनमा घुसपैठ हुन नदिन युवाहरूलाई कलेज ड्रेसमै सहभागी हुन भनिएको थियो। तर आह्वानअनुसार केही मात्र विद्यार्थी ड्रेसमा आएका भए पनि, दुर्गा प्रसाईँ समूह, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका समर्थकहरूले आन्दोलनमा प्रवेश गरेपछि परिस्थिति उग्र बन्दै गयो।

तीनकुनेमा भेला भएका प्रदर्शनकारीहरू सुरक्षा घेरा तोड्दै संसद् भवनतर्फ अघि बढ्दा सुरक्षाकर्मीले बल प्रयोग गरेका थिएनन्। तर कलेज ड्रेसमा नभएका समूहले संसद भवन नजिक पुगेपछि पानीको फोहरा प्रयोग गरिएको थियो। त्यसपछि केहीले संसद् भवनको गेटमा आगो लगाउने, गेट चढ्ने र भित्र प्रवेश गर्ने प्रयास गर्दा अवस्था नियन्त्रण बाहिर जान थालेको थियो।

स्थिति बिग्रिएपछि सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गर्दै हवाई फायरसमेत गरे। यस क्रममा केही पत्रकार घाइते भएका छन्।

सुरक्षाकर्मीको प्रारम्भिक ब्रिफिङअनुसार दुर्गा प्रसाईँ समूहले हिंसा भड्काउने रणनीति लिएको देखिएको छ भने रास्वपा र राप्रपाका समर्थकहरूले पनि आन्दोलनलाई उग्र बनाउने प्रयास गरेका थिए। सम्भावित क्षति रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको जिल्ला सुरक्षा समितिले तत्काल कर्फ्यु आदेश जारी गर्ने निर्णय गरेको थियो।

सोमबार सुरक्षाकर्मी संयमित देखिए पनि संसद भवनमा आगजनी र गेट चढ्ने गतिविधि सुरु भएपछि मात्रै बल प्रयोग भएको थियो। हातमा राष्ट्रिय झण्डा बोकेका, मुखमा मास्क र हेलमेट लगाएका केही प्रदर्शनकारी संसद भवनको पश्चिम गेट नजिकैको भवनमा चढेका थिए। उनीहरूलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याँस र हवाई फायरको सहारा लिनु परेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट