महँगी धान्न नसकेपछि बंगलादेशी श्रमिक आन्दोलित, १०० भन्दा बढी कारखाना ठप्प
न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै बंगलादेशका तयारी पोशाक (गार्मेन्ट) उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायतका प्रमुख औद्योगिक क्षेत्रमा हजारौँ श्रमिकले काम बहिष्कार गर्दै सडक प्रदर्शनमा उत्रिएपछि १०० भन्दा बढी कारखाना ठप्प भएका छन् ।
आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र साउन्ड ग्रेनेड प्रहार गरेपछि कतिपय स्थानमा झडपसमेत भएको छ ।
अकासिँदो महँगीका कारण दैनिक गुजारा चलाउनै मुस्किल परेको भन्दै श्रमिकहरूले हाल कायम मासिक न्यूनतम पारिश्रमिक १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका (करिब २४२ अमेरिकी डलर) पुर्याउनुपर्ने अडान राखेका छन् । सन् २०२२ यता करिब ९ प्रतिशतको औसत मूल्यवृद्धि झेलिरहेका श्रमिकहरू बिहान-बेलुकाको छाक टार्न र छोराछोरी पढाउनसमेत नसक्ने अवस्थामा पुगेका छन् ।
यद्यपि, सरकारी तलब बोर्डले गत नोभेम्बर ४ मै पारिश्रमिक पुनरावलोकन गर्ने सहमति जनाइसकेको छ । बोर्डका अनुसार नयाँ तलबदर डिसेम्बरमा घोषणा गरी आगामी जनवरीदेखि लागू गर्ने तयारी छ, तर कति रकम बढ्ने भन्ने टुंगो लागिसकेको छैन ।
यता, ‘बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन’ (बीजीएमईए) ले निरन्तरको हड्तालप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । उद्योगीहरूले एकैपटक ठूलो मात्रामा तलब बढाउँदा भारत र भियतनामजस्ता प्रतिस्पर्धी मुलुकको तुलनामा बंगलादेशको सस्तो श्रमको लाभ गुम्ने तर्क गरेका छन् । उत्पादन ठप्प भएपछि कारखाना सञ्चालकहरूले आन्दोलनरत श्रमिकविरुद्ध ‘नो वर्क, नो पे’ (काम नगरे तलब नदिने) नीति लागू गर्ने चेतावनी दिएका छन् ।
चीनपछि विश्वकै दोस्रो ठूलो कपडा निर्यातकर्ता बंगलादेशको अर्थतन्त्रमा गार्मेन्ट उद्योगलाई मेरुदण्ड मानिन्छ । एच एन्ड एम (H&M), जारा (Zara) र वालमार्टजस्ता विश्वप्रसिद्ध ब्रान्डका कपडा उत्पादन हुने करिब ३८ अर्ब अमेरिकी डलर बराबरको यस उद्योगले देशको कुल निर्यात आम्दानीको ८० प्रतिशत हिस्सा ओगटेको छ भने ४० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस