कानुनी शासनको आधारमा निकास खोज्नुपर्छ - मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियामा चासो र चिन्ता प्रकट गरेको छ। गत सोमबार सुरक्षाकर्मीको व्यापक बल प्रयोगका कारण १६ जनाको मृत्यु भएको थियो भने भोलीपल्ट प्रदर्शनकारीहरूले सिंहदरवार, सर्वोच्च अदालत र संघीय संसदमा आगजनी गरेका थिए।
मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको आधारमा निकास निकाल्न उचित हुने धारणा हामीले राष्ट्रपतिसमक्ष राखेका छौं। मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ।”
आयोगले अहिलेको परिस्थितिमा मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको रक्षाका लागि आवश्यक कदम चाल्ने बताए। साथै अन्य सरोकारवालाहरूसँग पनि निरन्तर सम्पर्कमा रहेको जनाइएको छ।
यद्यपि घटनाको सुक्ष्म अध्ययन गर्न चुकेको भन्दै आयोग आलोचनाको शिकार पनि भइरहेको छ। आयोगका पदाधिकारीहरू भने राष्ट्रपति कार्यालयसँग नियमित सम्पर्कमा रहेको र लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको संरक्षणका लागि पहल गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
गत सोमबार र मंगलबारका घटनामा सुरक्षाकर्मीको बल प्रयोगले हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस