Techie IT
२०८२ भाद्र ३१, मंगलबार

जेनजी उथलपुथल

जेनजीको आन्दोलनमा को नेता कता भागे?


भदौ २३ र २४ गते जेनजीले गरेको विद्रोहपछि आतंकित बनेको काठमाडौं उपत्यका क्रमशः सामान्यतर्फ फर्किएको छ। भ्रष्टाचार र बेथितिविरुद्ध भएको विरोध प्रदर्शनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले दमन गर्दा १९ जनाको ज्यान गएको थियो।

दमनपछि भड्किएका आन्दोलनकारीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहितका प्रमुख सरकारी भवन कब्जा गरेर तोडफोड गरेका थिए। त्यसैगरी, राजनीतिक दलका कार्यालय, नेताहरूका निजी निवास, व्यवसायी भवन तथा देशभरका सरकारी सम्पत्तिमा आगजनी गरिएको थियो।

उच्च सुरक्षा जोखिमका कारण नेपाली सेनाले तत्कालीन प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरूलाई विशेष सुरक्षा दिएको थियो।

भदौ २४ गते बिहान सेनाले ओलीलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट उद्धार गरी शिवपुरी ब्यारेकमा लगेको थियो। त्यस्तै, सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठकमा रहेका प्रचण्ड र माधवकुमार नेपाललाई पनि सेनाले सुरक्षित स्थलमा लगेको थियो।

कांग्रेस सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आफ्नै निवास बुढानीलकण्ठमा रहेका बेला प्रदर्शनकारीले आगजनी गरी दम्पतीलाई निर्घात कुटपिट गरेका थिए। सेनाले उद्धार गरी उनीहरूलाई उपचारका लागि अस्पताल पुर्‍याएको थियो।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल निवासमै रहेका बेला भएको आगजनीमा परेर उनकी श्रीमती रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी थिइन्। त्यस्तै, आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवासमा पनि आगजनी भए पनि उनी सेनाको ब्यारेकमा नभई आफन्तको घरमा बसेका थिए।

ओली र देउवा बाहेक अन्य पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरू आइतबार र सोमबार क्रमशः आफ्ना निवास फर्किएको उच्च स्रोतले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट