रास्वपामा ‘अर्लि महाधिवेशन’को बहस चर्किदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आगामी प्रतिनिधिसभा चुनाव र बदलिँदो राजनीतिक परिस्थितिलाई ख्याल गर्दै ‘अर्लि महाधिवेशन’ गर्नेबारे बहस सुरु भएको छ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले मध्यावधि निर्वाचनको मिति तय भइसकेको अवस्थामा महाधिवेशन अगाडि सार्ने विषयमा छलफल चलिरहेको पुष्टि गरेका छन्। तर, यसबारे पार्टीको केन्द्रीय समितिले अझै औपचारिक निर्णय भने लिएको छैन।
झाले भने, “दसैँ सकिएलगत्तै युद्धस्तरमा तयारी गर्ने हो भने अर्लि महाधिवेशन सम्भव हुन्छ। तर त्यसका लागि तोकिएको कार्यतालिका र निर्णयमा हेरफेर गर्नुपर्ने हुन्छ।”
रास्वपाले यसअघि २०८२ फागुन ७, ८ र ९ गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर प्रतिनिधिसभा निर्वाचनको मिति २०८२ फागुन २१ गते तोकिएपछि महाधिवेशन मिति सार्नुपर्ने आवश्यकता देखिएको उनले बताए।
पार्टीले यसअघि यही असोजभित्र वडा, कात्तिकभित्र पालिका, मङ्सिरमा जिल्ला अधिवेशन र माघ १५ भित्र प्रदेश अधिवेशन सम्पन्न गरी फागुनमा केन्द्रीय महाधिवेशन गर्ने योजना बनाएको थियो। तर अहिले पार्टीभित्र आउँदो मंसिरमै महाधिवेशन गर्ने प्रस्तावसमेत अगाडि आएको छ।
हालै सम्पन्न सचिवालय बैठकमा पनि झाले अर्लि महाधिवेशनको प्रसंग उठाउँदै केन्द्रीय समितिको बैठकमा प्रस्ताव राख्नुपर्ने धारणा राखेका थिए । उनले भने, “पार्टी गठन गर्दा धेरै साथीहरू जोडिनुभयो, तर अहिले केही सक्रिय छैनन्। महाधिवेशन भएपछि निस्क्रिय साथीहरू स्वतः पन्छिनेछन्, सक्रिय सदस्यहरू निर्वाचित भएपछि पार्टी अझ सुदृढ हुन्छ।”
रास्वपा करिब ३९ महिनाअघि पूर्वमिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा गठन भएको हो । स्वतन्त्र उम्मेदवारहरूको उदयपछि ‘स्वतन्त्र’ नाम जोड्दै स्थापना भएको पार्टीले गठन भएलगत्तै संसदीय चुनावमा भाग लिँदै चौथो शक्तिका रूपमा उदय गरेको थियो ।
पार्टी गठनको क्रममा नजिकका व्यक्तिलाई प्राथमिकता दिँदा सक्रिय कार्यकर्ताले अवसर नपाएको भन्ने टिकाटिप्पणी यथावत रहँदै आएको छ। आगामी महाधिवेशनले नेतृत्वको पुनःव्यवस्था र सक्रिय सदस्यको छनोट (स्क्रिनिङ) हुने पार्टीको धारणा छ।
तपाईको प्रतिक्रिया दिनुहोस