कांग्रेस गण्डकीका सभापतिहरूद्वारा विशेष महाधिवेशन माग

नेपाली कांग्रेस गण्डकी प्रदेशका क्षेत्रीय सभापतिहरूले पार्टीको केन्द्रीय विशेष महाधिवेशनको माग गरेका छन्।
मंगलबार पोखरामा बसेको सभापतिहरूको बैठकले तत्काल महाधिवेशनको मिति घोषणा गरी गतिविधि अघि बढाउन आग्रह गरेको कास्की–१ का सभापति राजेन्द्रमणी लामिछानेले जानकारी दिए।
‘अन्योलको समयमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक तत्काल बोलाउनुपर्छ। उक्त बैठकले विशेष महाधिवेशनको मिति तय गरेर कार्यक्रम अघि बढाउनुपर्छ,’ उनले भने।
बैठकमा प्रदेशभरिबाट पाँच जना मात्र सभापति सहभागी थिए। गण्डकी प्रदेशमा १८ निर्वाचन क्षेत्र भए पनि पाँच जिल्लामा क्षेत्रीय समिति नभएकाले त्यहाँ सभापति छैनन्। बाँकी १३ सभापतिमध्ये धेरैजना व्यक्तिगत व्यस्तताका कारण उपस्थित हुन नसकेको लामिछानेको भनाइ छ।
उपस्थित हुने सभापतिहरूमा राजेन्द्रमणी लामिछाने (कास्की–१), केशर निर्दोषी (गोरखा–२), श्यामकुमार मौरती (तनहुँ–१), चुडामणी खनाल (तनहुँ–२) र जोकलाल बुढा (बागलुङ–२) थिए।
तर, कास्की–३ का सभापति मनोज गुरुङ भने बैठकमा सहभागी भएनन्। उनले, “महाधिवेशन हुने बेलामै छ। अहिले विशेष महाधिवेशनको आवश्यकता छैन। बरु केन्द्रले गर्ने निर्णय स्वीकार गरेर अघि बढ्नुपर्छ,” भन्ने धारणा राखेका छन्।
उनले मुलुक कठिन अवस्थामा रहेको उल्लेख गर्दै, “देश खरानी भएको छ, डढेलो लागेको छ। यस्तो बेला पार्टी एक भएर अघि बढ्नुपर्छ। जात्रा देखाउने काम गर्नु हुँदैन,” भनेका छन् ।
यसअघि कास्की जिल्ला समितिले पनि विशेष महाधिवेशन माग गर्ने निर्णय गरेको दाबी गरिएको थियो। तर, सो बैठकले औपचारिक निर्णय नगरी होहल्ला मात्रै गरिएको आरोप पनि लागेको छ।
यस्तै, केही सभापतिहरूले पार्टी सभापति स्वास्थ्य समस्याका कारण अस्पतालमै रहेका बेला विशेष महाधिवेशनको माग गर्नु उचित नहुने तर्कसमेत गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस