माओवादीभित्र शक्ति संघर्ष : श्रेष्ठ–शर्मा नजिकिँदै
नेकपा (माओवादी केन्द्र) भित्र जारी शक्ति संघर्षबीच वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा एकै धारमा उभिने संकेत देखिएको छ। आज बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले हतारमा बैठक बोलाएको र नेताहरूलाई पर्याप्त रूपमा विचार राख्ने अवसर नदिएको भन्दै उनीहरूले संयुक्त रूपमा असन्तुष्टि प्रकट गरेका थिए ।
यसअघि आइतबार बसेको पदाधिकारी बैठकमा श्रेष्ठले प्रचण्डसँग कार्यवाहक जिम्मेवारी दिन माग गरेका थिए। श्रेष्ठको प्रस्तावमा शर्माले पनि समर्थन जनाउँदै दुई महिनापछि महाधिवेशन गर्ने सहमतिपछि कार्यवाहक दिन सकिने बताएका थिए।
तर, पार्टीले भने केन्द्रीय कमिटी विघटन गरी अध्यक्ष प्रचण्डकै संयोजकत्वमा आयोजक कमिटी गठन गर्ने र मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ। यसबारे औपचारिक निर्णय भोलिको केन्द्रिय वैठकबाट हुने बताइएको छ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्यले भने, “अध्यक्षले बैठक एक दिनमै सक्ने कुरा गर्नुभएको थियो। त्यसमा जनार्दनले असहमति जनाउनुभयो भने, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पनि असहमति राख्न पाउने अधिकार सबैलाई दिनुपर्छ भन्नुभयो।” उनका अनुसार पार्टीभित्रको समीकरणमा श्रेष्ठ र शर्मा नजिकिँदै गरेको संकेत देखिएको छ, तर भोलिको बैठकमा त्यसबारे स्पष्ट हुनेछ।
अध्यक्ष प्रचण्डले समय अभाव भएको भन्दै नेताहरूलाई आफ्नो विचार समूहगत रूपमा राख्न आग्रह गरे पनि अन्ततः बैठक दुई दिनसम्म चल्ने सहमति भएको छ। बैठकपछि प्रचण्डले आफूले नेतृत्व छाड्नेबारे छलफल भइरहेकाले महाधिवेशनमा पुगेर अन्तिम टुंगो लाग्ने बताएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस