गुटको उँटबाट ओर्लौं, विवेकको सिँढी उक्लौँ - महामन्त्री विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधानमै युवा पुस्ताको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका छन्।
शुक्रबार पर्साको वीरगञ्ज र बाराको कलैयामा आयोजित कार्यक्रममा बोल्दै उनले अबको रुपान्तरण युवाप्रति समर्पित हुनुपर्नेमा जोड दिएका थिए । उनका अनुसार, “विधानमा अब ३० मुनिका ३० राखौं, हरेक तहमा ३० वर्षमुनिका प्रतिनिधित्व हुने व्यवस्था गरौं। केन्द्रीय समितिमा पनि ३० वर्षमुनिका मात्रै उम्मेदवार र मतदाता हुनेगरी ३० जना निर्वाचित गर्ने समय आएको छ।”
शर्माले विदेशस्थित जनसम्पर्क समितिलाई पनि केन्द्रीय संरचनामा समेट्नुपर्ने धारणा राख्दै प्रत्येक महादेशबाट एक–एक जना तथा मध्यपूर्वबाट छुट्टै एक जना केन्द्रीय सदस्य निर्वाचित गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे।
देश, लोकतन्त्र र पार्टी खतरामा परेको बेला नेताहरू गुटबन्दीमा सीमित हुनु गलत भएको उनको टिप्पणी थियो। उनले भने, “भोलि कसैले सोध्यो भने तपाईं के गर्दै हुनुहुन्थ्यो ? गुट जोगाउँदै थिएँ भन्ने जवाफ दिन नपरोस्। गुटको उँटबाट ओर्लौं, विवेकको सिँढी उक्लौँ।”
महामन्त्री शर्माले जेन–जी आन्दोलनले खोजेको परिवर्तनलाई कांग्रेसभित्रैबाट सुरु गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
तपाईको प्रतिक्रिया दिनुहोस