Techie IT
२०८२ पौष १, मंगलबार

युलेन्स स्कुल व्यवस्थापन समितिबाट आरजु राणाको राजीनामा


निवर्तमान परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्। अभिभावकहरूको बैठकमा उनले राजीनामा दिएको जानकारी गराइएको हो। काठमाडौं र ललितपुर दुवै शाखाबाट उनले पद छोडेकी हुन्।

गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। भौतिक संरचना जलेर पूर्ण रूपमा नष्ट भएपछि स्कुललाई नयाँ ढंगले सञ्चालन गर्ने योजना बनाइएको छ। अभिभावक स्रोतका अनुसार अब ट्रस्टी अभिभावकमैबाट छानिनेछन्। “रोडम्यापअनुसार पहिलो १५ वर्ष संस्थापक ट्रस्टी, त्यसपछि अभिभावक र त्यसपछि पूर्वविद्यार्थीमार्फत स्कुल सञ्चालन गरिने योजना छ,” एक अभिभावकले भने ।

हाल युलेन्स स्कुल अनलाइन कक्षा सञ्चालन गरिरहेको छ। कक्षा १० देखि १२ र आइबीका कक्षा दशैंपछि प्रत्यक्ष रूपमा सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ। पूर्ण रूपमा फेस–टु–फेस कक्षा तीन–चार महिनाभित्र सुरु गर्ने योजना रहेको छ।

युलेन्स स्कुलले हालै विज्ञप्ति जारी गर्दै गत आन्दोलनका क्रममा विद्यालय अफवाहको सिकार भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “फाउन्डेशनको बोर्ड अफ ट्रस्टीले शिक्षा ऐनअनुसार डा. आरजु राणालाई विद्यालय व्यवस्थापन समितिमा नियुक्त गरेको हो। यो त्यस्तै अध्यक्षता हो, जसरी सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा स्थानीय व्यक्तिहरू हुन्छन्। विद्यालयको स्वामित्व भने सरकारकै अधीनमा हुन्छ। युलेन्सलाई युलेन्स एजुकेशन फाउन्डेशनले सञ्चालन गर्छ, र डा. राणा फाउन्डेशनमा ट्रस्टी होइनन्, व्यवस्थापन समितिमा मात्र हुनुहुन्छ।”

युलेन्सले डा. राणामाथि गरिएको “नाफामुखी व्यवसाय” भन्ने आरोपलाई निराधार दाबी गर्दै दुष्प्रचारको खण्डन गरेको छ। “समाजमा अफवाह फैलाउन कति सजिलो छ भन्ने कुरा यस प्रकरणले देखाएको छ। डा. देउवाले पटक–पटक खण्डन गरे पनि विभिन्न निकायले चासो नदिँदा युलेन्स अफवाहको सिकार भएको हो,” विज्ञप्तिमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट