Techie IT
२०८२ असोज २८, मंगलबार

प्रचण्डको सुरक्षा वाईसीएल र पूर्व पीएलएले गर्छ - दीपशिखा


सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत केही नेताहरूको सुरक्षा कर्मी फिर्ता गर्ने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका नेता तथा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आक्रोश व्यक्त गरेका छन्।

गृह मन्त्रालयले बिहीबार निर्णय गर्दै स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेका पूर्वपदाधिकारीहरूको सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको थियो। निर्णय सार्वजनिक भएपछि दीपशिखाले सामाजिक सञ्जालमा प्रचण्ड लगायत माओवादी नेताहरूको सुरक्षा पूर्व जनमुक्ति सेना (पीएलए)ले गरिरहेको र गरिरहने बताएका छन्। उनले चेतावनी दिँदै भने, “ढिलोचाँडो बदलाभावको सत्ता डण्डा केपी ओलीको जस्तै हुने छ।”

प्रचण्डको सुरक्षामा खटिएका ३४ जना सुरक्षाकर्मी फिर्ता हुने क्रममा छन् । यसअघि सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रचण्डलाई विशेष सुरक्षा दिइएको थियो। प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार, शुक्रबार बिहानसम्म मापदण्ड विपरीत रहेका सुरक्षाकर्मी फिर्ता भइसकेको हुने गरी सर्कुलर गरिएको छ । गृह मन्त्रालय स्रोतले यस्तो निर्णय पूर्वपदाधिकारी मात्र नभई बहालवाला पदाधिकारीहरूमा पनि लागू हुने बताएका छन्।

माओवादी जनमुक्ति सेनाका पूर्व सर्वोच्च कमाण्डर प्रचण्ड २०६३ मा तत्कालीन सरकार र माओवादी विद्रोहीबीच भएको बृहत शान्ति सम्झौतापछि शान्तिपूर्ण राजनीतिमा आएका थिए । गृह प्रशासनका अनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा सशस्त्र प्रहरीका एक कमाण्डरसहित १६ जना र नेपाल प्रहरीका दुई जना जुनियर अधिकृत राख्न पाउने प्रावधान छ ।

भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र नेताहरूको निवासमा आगजनी भएपछि प्रचण्ड उच्च सुरक्षा घेरामा बसेका थिए। दीपशिखाले भने, “भदौ २४ गते मात्र प्रचण्ड सुरक्षा घेरामा बसेका हुन्। त्यसपछि पूर्व पीएलए र वाईसीएलले आवश्यक सुरक्षा दिइरहेका छन्।”

दीपशिखाका अनुसार, प्रचण्डको भित्री सुरक्षा व्यवस्था पूर्व पीएलएले, बाहिरी सुरक्षा व्यवस्था वाईसीएलले सम्हालिरहेको छ। वाईसीएल अध्यक्ष पुष्प ओलीले पनि प्रचण्डको सुरक्षा दुई तहमा व्यवस्थापन गरिएको जानकारी दिएका छन्।

ओलीका अनुसार, “भित्री घेराको सुरक्षा पूर्व पीएलएले, बाहिरी घेराको सुरक्षा वाईसीएलले सम्हाल्छ। अध्यक्ष कुनै कार्यक्रममा जानु भयो भने हामी सुरुमै सुरक्षा चुनौतीको अनुगमन गरी व्यवस्था गर्छौँ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट