विगतका मन्तव्य ज्योतिषीले भनेजस्तो ठ्याक्कै मिल्दै गए - प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना विगतका मन्तव्य ज्योतिषीले भनेजस्तो ठ्याक्कै मिल्दै गएको दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा सम्पादकहरुसँगको अन्तरक्रियामा प्रचण्डले राष्ट्रको स्वाधिनतामा जोड दिँदै भने, “विगतका आफ्नै मन्तव्य सुन्दा ज्योतिषीले भनेजस्तो भएको छ। अब राष्ट्रिय सहमतिबाट चुनावमा जानुपर्छ। अहिले पनि अहंकार गरेर एकले अर्कालाई दोषारोपण गरियो भने जनता र राष्ट्रको लागि दुर्भाग्य हुने छ।”
उनले तीन पार्टीका तीन नेता उस्तै भन्ने भाष्य गलत भएको टिप्पणी गरेका छन् । प्रचण्डले भने, “राष्ट्रिय सहमति कायम गरेर अघि बढौँ। एउटा भाष्य बनेको देख्दा चित्त दुखेको छ। तीन पार्टी, तीन नेता उस्तै छन् भन्ने भनाइ गलत हो।”
उनले नेतृत्व छोड्न तयार भएँ भन्नु र नेतृत्व ज्यान जाला छोड्दिन भन्नु उस्तै हो त भन्ने प्रश्न पनि उठाएका थिए । प्रचण्डले भने, “यसअघि सरकारको नेतृत्वमा रहनेको अहंकार अझै उस्तै छ । अझै जनताको चाहना बुझ्ने प्रयास भएको छैन ।”
उनले संविधानको मर्म र लोकतन्त्रको भावना विपरीत सरकार गठन हुँदा आफूले विरोध जनाएको स्मरण गराएका छन् । प्रचण्डले भने, “हामीलाई हटाउन जे अभ्यास गरियो, त्यो लोकतान्त्रिक थिएन । संविधानको मर्मअनुसार पनि थिएन । अहिले युवाहरुको ठूलो विद्रोह भयो र देशमा कहिल्यै नभएको क्षति भयो।”



तपाईको प्रतिक्रिया दिनुहोस