जब विष्ट र भट्टराईले ओलीको राजीनामा मागे...

नेकपा एमालेका सचिव गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा गर्न माग राखेका छन् ।
भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकमा दुवै सचिवले जेनजी पुस्ताको आन्दोलनपछि विकसित परिस्थितिमा ओलीले सम्मानजनक निकास दिएर पार्टी पुनर्गठनको वातावरण निर्माण गर्नुपर्ने धारणा राखेका थिए।
बैठक स्रोतका अनुसार विष्टले भने, “अध्यक्षबाट राजीनामा गर्दा तपाईं र पार्टी दुवैको हित हुनेछ। सम्मानजनक निकासले यो सुनिश्चित गर्छ।” विष्टले जेनजी पुस्ताको विद्रोहलाई विदेशी षड्यन्त्रको रुपमा हेर्न नमिल्ने र सरकारले यसबाट जोगिने नेतृत्व गर्न नसकेको पनि औँल्याएका थिए ।
उक्त बैठकमा विष्टले सडकबाट सत्ता पलट हुने अवस्था र त्यसबारे समयमै सूचना लिन नसक्नु, सावधानी अपनाउन नसक्नु जस्ता शासकीय कमजोरीको चर्चा पनि गरेका थिए ।
योगेश भट्टराईले पनि ओलीको राजीनामा उनको हितमा रहेको तर्क गरे र उनलाई ‘लिडर अफ रिकन्सिलेसन’ बन्न आग्रह गरेका थिए । भट्टराईले ओलीले इतिहासमा केही मानक निर्माण गरेको उल्लेख गर्दै अब आफ्नो भूमिका बदल्ने टर्निङ पोइन्टमा पुगेको बताए।
भट्टराईले पार्टीको नेतृत्व आफूहरूलाई छोडिदिन आग्रह गर्दै भने, “पार्टीको नेतृत्व हामी चलाउँछौं, तपाईंको सल्लाह लिएरै।” तर ओलीले आफूले कुनै कमजोरी नगरेको भन्दै राजीनामा नदिने अडान लिएका छन्। उनले महाधिवेशनबाट मात्रै पार्टी नेतृत्वको निर्णय हुने स्पष्ट पारे।
सचिवालय बैठकको दोस्रो दिन, आइतबार, नेताहरूले फेरि ओलीलाई भूमिका परिवर्तन गर्न र पार्टी पुनर्गठनमा मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। यस क्रममा सचिव भट्टराई र विष्टले सम्मानजनक निकास दिनुपर्ने बताए भने छविलाल विश्वकर्मा र पद्मा आर्यालले छिटो महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने सुझाएका थिए। बैठकको अन्तिममा ओलीले प्रतिनिधि सभा पुनर्स्थापानाका लागि पहल गर्नुपर्ने जवाफ दिएका थिए । निर्वाचनको वातावरण नभएकाले पुनर्स्थापनातर्फ जानुको विकल्प नभएको ओलीको भनाइ थियो ।
बैठक समापन गर्दै ओलीले सचिव भट्टराई र विष्टतर्फ संकेत गर्दै आफ्नो राजीनामा मागेकोमा केही चर्को सुनिए । ‘आज दुई जना साथीहरूले मेरो राजीनामा माग्नुभयो, अरू साथीहरूले पुनगर्ठन भन्नुभयो,’ ओलीले भट्टराई र विष्टतर्फ संकेत गर्दै भनेका थिए ।
उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि मंसिरको अन्तिम साता ११औँ महाधिवेशन गर्ने प्रस्ताव पेश गरिएको जानकारी दिएका छन्। उनले सरकार आफैं निर्वाचनको वातावरण निर्माण गर्न नजाँदै चुनावको वातावरण बिग्रिएको ठहर भएको पनि बैठकले निष्कर्ष निकालेको बताए।
यसअघि शुक्रबारको बैठकमा उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र रामबहादुर थापाले पनि ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। जेनजी विद्रोहपछि आयोजक कमिटीमार्फत महाधिवेशनमा जानुपर्ने आवाज उठे पनि सचिवालयको निर्णयअनुसार एमाले ११औँ महाधिवेशन ओलीकै नेतृत्वमा जाने निश्चित भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस