नख्खु कारागारबाट लामिछानेले मागे सरकारसँग आफूविरुद्ध मुद्दाको धारणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लो सरकारले आफूविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा बुझ्न खोजेका छन्।
लामिछानेले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको दाबी गर्दै सरकारले यस विषयमा स्पष्ट धारणा जनाउनुपर्ने आग्रह गरेका छन्। उनले कारागारबाट चार बुँदे सन्देश जारी गर्दै, “एक पटक चिठ्ठा परेकालाई पटक–पटक नपर्ने” चेतावनीसमेत दिएका छन्। साथै, वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा रहेको भन्दै आवश्यक परे नेतृत्व त्याग दुवै गर्न तयार रहेको बताएका छन्।
लामिछानेलाई नख्खु कारागारमा भेटेपछि उनका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले उनी पूर्ववत स्वस्थ, दृढ र आत्मविश्वासी रहेको जानकारी दिएका छन्।
न्यौपानेका अनुसार लामिछानेले राजनीतिक चासो राख्ने सबैलाई जानकारी गराइदिने उद्देश्यका साथ चार बुँदे सन्देश दिएको बताइएको छ।
यस्ता छन् रविका चार सन्देश
(१) अघिल्लाे सरकारले राजनीतिक प्रतिशाेधका आधारमा मविरुद्ध लगाएकाे मुद्दामा वर्तमान सरकारकाे धारणा खाेजिरहेकाे छु, ‘फेवर’ हाेइन। हिजाे ‘अन्याय भयाे’ भन्नेहरूले आज केही त बाेल्नु पर्ला!
(२) पछिल्लाे जनमतका आधारमा चाैथाे शक्ति हुनुकाे नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ। आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्छ।
(३) एकपटक चिठ्ठा परेकाहरू पटक-पटक पराेस् भन्ने ठान्छन्। तर, संयाेग दाेहाेरिरहँदैन नि! भर्खरै चिठ्ठा परेका केहीलाई फेरि चिठ्ठाकै आश/लाेभ छ। लाेभीहरूले चिठ्ठा किन्न सक्छन। तर, फेरि पर्छ नै भन्ने हुन्न। हरेक जालमा माछा पर्दैन नि!
(४) रास्वपालाई मुलुककाे नेतृत्व गर्ने दल बनाउनु छ। त्याे क्षणिक लाभ-हानी साेचेर बन्दैन। अत्यन्तै खराव परिस्थिति आए पनि रास्वपालाई एक नम्बरकाे शक्ति बनाउने दृढतामा कमजाेर हुन्न, मेहनत र समय कति लाग्छ त्याे ठूलाे कुरा हाेइन।



तपाईको प्रतिक्रिया दिनुहोस