Techie IT
२०८२ कार्तिक १६, आइतबार

माओवादीको पहलमा यी सात दलको एकता हुँदै, प्रचण्ड र प्रभाकरबीच भनाभन


नेकपा (माओवादी केन्द्र) को पहलमा सातवटा वामपन्थी दलबीच एकता प्रक्रिया अघि बढ्ने पक्का भएको छ। माओवादी केन्द्रका नेता अग्नि प्रसाद सापकोटाका अनुसार, एकता गर्न सहमति जनाएका पार्टीहरूको संख्या हालसम्म सात पुगेको छ।

यी सात दलमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रेमबहादुर सिंह नेतृत्वको नेकपा, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी र विप्लव समूहबाट छुट्टिएको चिरण सी नेतृत्वको समूह रहेका छन्।

एकता प्रक्रियाबारे छलफल गर्न आज शनिबार माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो । बैठकपछि सापकोटाले ‘वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत’ विषयहरूमा करिब अन्तिम सहमति भइसकेको बताउँदै आजको बैठकमा प्राविधिक र सांगठनिक पक्षमा छलफल भएको जानकारी दिए।

नेताहरूका अनुसार, एकतापछि बन्ने नयाँ पार्टीको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनेछन्। प्रारम्भिक रूपमा प्रचण्ड संयोजक र माधवकुमार नेपाल सह–संयोजकका रूपमा जिम्मेवारी लिने प्रस्तावमा छलफल भइरहेको छ।

एकीकृत समाजवादीको केन्द्रीय समितिले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्टै माओवादी केन्द्रले पनि सचिवालय बैठक बसेर एकताबारे छलफल गरेको हो। एकताको निर्णय अनुमोदन गर्न माओवादी केन्द्रले कात्तिक १७ गते केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ।

बैठकपछि प्रचण्डले एकता प्रक्रियामा रहेका दलहरूको संयुक्त सभा एक साताभित्रै सम्पन्न हुने बताएका छन्। उनका अनुसार, भिन्न मत राख्ने नेताहरूसँग पनि संवाद जारी छ र सबै एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

तर, सचिवालयको सोही बैठकमा नेता जनार्दन शर्माले भने एकीकृत समाजवादीसँगको एकता तत्काल रोक्नुपर्ने माग गरेका छन्। बैठकमा आफ्नो धारणा राखेपछि उनी बैठक कक्षबाट बाहिरिएका थिए।

पत्रकारहरूले प्रचण्डलाई सोधेका थिए, “पार्टीमा पहिरो जाने संकेत देखियो नि ?”
जवाफमा प्रचण्डले भने, “केही जाँदैन। हाम्रो पार्टी एकजुट छ। केन्द्रीय समितिको बैठकसम्म जनार्दन पनि सहमत हुनेछन् भन्ने विश्वास छ।”

प्रचण्डले जनार्दनले आफ्ना कुरा राखे पनि अरू नेताहरूका विचार नसुनी हिँड्नु असहयोगी व्यवहार भएको टिप्पणी गरेका थिए । उनले भने, “छलफलको संस्कार भनेको सबैको कुरा सुन्ने हो। उहाँ उठेर हिँड्नु ठीक शैली होइन।”

जनार्दन शर्माले भने एकीकृत समाजवादीसँगको एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास भएको आरोप लगाएका छन्। उनले भने, “हाम्रो केन्द्रीय समितिले दुई पटक मंसिरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको थियो। विचारको बहस र प्रतिस्पर्धात्मक नेतृत्व निर्माणको प्रक्रिया अवरुद्ध पार्दै गरिएको यो एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास हो।”

उनका अनुसार, “माओवादी विचार र पहिचान परित्याग गर्दै बहुदलीय जनवादका आधारभूत मान्यतासँग आत्मसमर्पण गर्ने प्रवृत्तिले पार्टीको मूल चरित्र समाप्त पार्ने खतरा छ।”

तर, शर्माले समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकता आवश्यक रहेको उल्लेख गर्दै भने, “हामीले उठाएका विषय बेवास्ता गर्दै आत्मसमर्पणको आधारमा हुने एकताले पार्टीलाई बलियो होइन, कमजोर बनाउनेछ।”

शर्माले हालैको ‘जेनजी आन्दोलन’ले उठाएको सुशासन, पारदर्शिता र नेतृत्व हस्तान्तरणको भावना विपरीत हुने खालको एकताले पार्टीको साख घटाउने र विसर्जनतर्फ धकेल्ने चेतावनी दिएका छन्। यसै कारण, उनले एकीकृत समाजवादीसँगको एकता प्रक्रिया तत्काल स्थगन गर्न माग गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट