Techie IT
२०८२ कार्तिक १९, बुधबार

जाँचबुझ आयोगले भन्यो आइजिपीलाई किन कारबाही नगर्ने ?


भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण मागेको छ।

आयोगका प्रवक्ता तथा सदस्य विज्ञानराज शर्माका अनुसार बुधबार आयोगले “आइजिपीलाई किन कारबाही नगर्ने ?” भन्ने विषयमा २४ घन्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।

शर्माले भने, “आइजिपीलाई तपाईंलाई किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेका छौं। त्यसका लागि २४ घन्टाको समय दिएका छौं।”

प्रहरीबाट विवरण नआएपछि आयोग असन्तुष्ट

शर्माका अनुसार आयोग गठन भएको केही समयमै भदौ २३ र २४ गतेका दिन फिल्डमा खटिएका प्रहरी अधिकृत र जवानहरूको सूची माग्दै पत्राचार गरिएको थियो। तर, २२ दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले विवरण नपठाएपछि आयोगले फेरि पत्र पठाएर कारण सोधेको थियो।

त्यसपछि मात्र प्रहरीले “आइजिपीदेखि जवानसम्म सबै खटिएका थिए” भन्ने सामान्य जवाफ पठाएको, तर विस्तृत विवरण उपलब्ध नगराएको आयोगको भनाइ छ।

२४ घन्टाभित्र जवाफ माग

आयोगले आइतबार आइजिपी खापुङकै नाममा २४ घन्टाभित्र स्पष्टीकरण पठाउन भन्दै पत्राचार गरेको थियो। प्रहरी प्रधान कार्यालयले भने “सो विवरण काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग छ, त्यहाँबाट लिन समय लाग्छ” भन्दै जवाफ फर्काएको थियो।

तर आयोगले यो औचित्य ठहर नगरी प्रधान कार्यालयले नै विवरण उपलब्ध गराउनुपर्ने जिम्मेवारी पूरा नगरेको भन्दै आइजिपीलाई स्पष्टीकरण सोधेको हो।

शर्माले भने, “आयोगको काममा ढिलाइ हुने गरी विवरण नपठाएकोले हामीले आइजिपीलाई नै सोधेका हौं— किन तपाईंलाई कारबाही नगर्ने ? आयोगको काममा बाधा पुर्‍याउनेहरूलाई स्पष्टीकरण सोधिन्छ।”

प्रहरी इन्चार्ज र कमान्डरलाई उपत्यका नछाड्न निर्देशन

आइतबार नै आयोगले प्रहरी प्रधान कार्यालयलाई काठमाडौं उपत्यकामा भदौ २३ र २४ गते खटिएका प्रहरी इन्चार्ज तथा कमान्डरहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। आयोगले ती प्रहरी अधिकृतहरूलाई सोधपुछ र बयानका लागि बोलाउनुपर्ने भएकाले उपत्यका बाहिर नपठाउन आग्रह गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट