Techie IT
२०८२ कार्तिक २३, आइतबार

रास्वपाको चुनावी वाचा पत्रमा के छ?


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गते हुने चुनावका लागि वाचा पत्र (घोषणापत्र)को प्रारम्भिक खाका तयार पारेको छ।

रास्वपा उपसभापति स्वर्णिम वाग्लेले शनिबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै पार्टीले वाचापत्रको प्रारम्भिक रूप तयार गरेको जानकारी दिए। ‘वाचापत्रको प्रारम्भिक खाका तयार भइसकेको छ। अब यसलाई परिस्कृत गर्दै अघि बढ्छौं,’ उनले भने।

उनका अनुसार वाचापत्रमा ६ वटा मुख्य खण्ड रहनेछन्। पहिलो खण्डमा अर्थ–राजनीतिक प्रस्तावना रहनेछ, जसलाई जलेश्वर प्रस्तावना नाम दिइएको छ।

‘त्यसपछि २०७९ देखि २०८२ सम्मको हाम्रो राजनीतिक यात्रा निषेधदेखि विस्फोटसम्म भन्ने शीर्षकअन्तर्गत विश्लेषण रहने,’ उनले बताए। ‘त्यसमध्ये हाम्रा आरोह–अवरोह, अनुभव र सिकाइहरू, सफलताहरू र कमी कमजोरीहरूको इमानदार समीक्षा हुनेछ।’

तेस्रो खण्डमा रास्वपालाई किन र यसपटक फागुनमा किन भोट दिने भन्ने पाँच तर्क प्रस्तुत गरिने उनले जानकारी दिएका छन्। ‘यसमा सुशासनका संवाहकका रूपमा, युवापुस्ताको प्रतिनिधिका रूपमा, सामाजिक सौहार्दता र समावेशीताप्रतिको प्रतिबद्धता, प्रवासका मुद्दाहरूका सारथीका रूपमा रास्वपाको दृष्टिकोण समावेश हुनेछ,’ वाग्लेले भने।

उनका अनुसार वाचापत्रको मूल सार देशलाई छिटो आर्थिक समृद्धितर्फ लैजाने योजनामा केन्द्रित हुनेछ। ‘आर्थिक उन्नतिका विषयमा नयाँ विचार र ती विचारहरूलाई कार्यान्वयन गर्न सक्ने नयाँ पात्र रास्वपाले ल्याउँछ,’ उनले भने।

मूल खण्डमा मुलुक अहिले कहाँ छ, निश्चित अवधिमा कहाँ पुग्ने र त्यसको यात्रा कसरी तय गर्ने भन्ने दिशानिर्देश प्रस्तुत गरिने वाग्लेले स्पष्ट पारे। ‘सुरुआती भागमा अहिलेको अर्थ, राजनीति, समाज, विश्व सन्दर्भ, प्रवासी नेपाली, सौम्य शक्ति आदि विषयमा १० वटा झलक प्रस्तुत हुनेछन्,’ उनले भने। ‘त्यसमा वि.सं. २१०० सम्म नेपाल कहाँ पुग्ने भन्ने गन्तव्य पनि समेटिनेछ।’

‘जनताले वाचापत्र पढेपछि बुझ्नेछन् — अहिले हामी कहाँ छौं, केही वर्षपछि कहाँ पुग्नेछौं, र यदि रास्वपाले देश हाँक्ने मौका पायो भने २१०० सालसम्म नेपाल कस्तो हुनेछ भन्ने विश्वासिलो चित्र त्यसले देखाउँछ,’ उनले भने।

त्यस्तै, वाचापत्रमा न्याय, अर्थ, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, निर्माण, ऊर्जा, यातायात, सहरीकरणलगायतका विषय समेट्ने गरी मन्त्रालयहरूलाई १५ वटा क्लस्टरमा विभाजन गरिने उल्लेख छ।

‘यी १५ मन्त्रालयलाई पाँच–पाँच वटा खम्बामा बाँडेर अहिलेको अवस्था र आगामी पाँच वर्षको लक्ष्य तय गरिन्छ,’ उनले भने। ‘प्रत्येक क्षेत्रमा खर्च कति लाग्छ, स्रोत कहाँबाट जुटाइने हो, र वित्तीय व्यवस्थापन कसरी गरिने हो भन्ने पनि स्पष्ट गरिनेछ।’ पाँचौं खण्डमा सार्वजनिक अपिल रहनेछ भने छैटौं खण्डमा रास्वपा सरकार बनेपछि पाँच दिनभित्र गर्ने ५० निर्णय समेत उल्लेख हुने वाग्लेले जानकारी दिएका छन्।

यी सबैलाई पुष्टि गर्नका लागि नक्सा र तथ्यांकका तालिकाहरू समेत वाचापत्रमा समावेश गरिने वाग्लेले बताएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट