उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने
उर्जामन्त्री कुलमान घिसिङले स्थापना गर्न लागेको नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ।
तत्कालका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरू सदस्य रहने गरी पार्टी निर्वाचन आयोगमा दर्ता गरिने तयारी भइरहेको छ। पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ नै रहने निर्णय गरिएको छ।
यसअघि पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्ने सहमति भए पनि आइतबार राति बसेको बैठकले अन्ततः ‘उज्यालो नेपाल’ नाम लिएर आयोगमा दर्ता गर्ने निर्णय गरेको हो।
कुलमान घिसिङ निकट एक नेताका अनुसार, अहिले तत्कालका लागि कुनै पदाधिकारी नबनाइने र उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिने तयारी भइरहेको छ।
‘सुमना जी, अरू केही पदाधिकारीमा रहने साथीहरू दोस्रो चरणमा जोडिनुहुन्छ,’ ती नेताले भने, ‘अहिले हामी माइन्यूटिङ र हस्ताक्षरको काम गर्दैछौँ। सम्भव भएसम्म आज साँझ ४ बजेसम्म टुंग्याएर आजै दर्ता गर्ने प्रयास छ, नभए भोलि।’
अहिले केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाम टुंग्याउने अन्तिम चरणको छलफल चलिरहेको स्रोतले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस