जेनजी आन्दोलनमा घरमा आगजनीबाट घाइते श्रीमतीको उपचारमा सरकारको बेवास्ता प्रति खनाल आक्रोशित
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति गम्भीर आक्रोश व्यक्त गरेका छन्। जेनजी आन्दोलनका क्रममा खनालको घरमा आगजनी गरी हत्या प्रयास भएको थियो।
चार दशकभन्दा लामो समय फिजिक्समा प्राध्यापन गर्दै आएकी चित्रकार गम्भीर घाइते भएकी छिन् र हाल अस्पतालमा उपचाररत छिन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले सरकारले चित्रकारको अवस्थाबारे एक शब्द पनि नसोधेको भन्दै प्रश्न उठाएका छन्।
खनालले यो प्रश्न व्यक्तिगत मात्र नभएको बताए। चार दशक देशलाई योगदान दिने प्राध्यापकको उपचारमा बेवास्ता गरिएको भन्दै उनले सरकारमाथि आलोचना गरे। सरकारले जेन–जी आन्दोलनका घाइतेलाई निःशुल्क उपचारको घोषणा गरिसकेको भए पनि पूर्वप्रधानमन्त्रीकी श्रीमती भएकाले चित्रकारको उपचारमा मौनता रहेको उनको आरोप छ।
आन्दोलनकारीले खनालको घर पूर्ण रूपमा जलाएका कारण सम्पत्ति नष्ट भएको छ। खनालले आफूसँग धेरै सम्पत्ति नभएको बताए पनि ७० रोपनीमध्ये ५५ रोपनी जग्गा सरकारलाई दिएका छन्। सो जग्गामा हाल इलाममा सिटिइभिटी कार्यालय बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस