के बाबुराम रास्वपातर्फ जादैछन् ?
डा. बाबुराम भट्टराईले गोर्खा–२ बाट दिएको प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै १२ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गरेका छन्। लामो तर्क प्रस्तुत गरे पनि उनले अब कसलाई समर्थन गर्ने भन्ने विषयमा स्पष्ट खुलासा भने गरेका छैनन्।
उम्मेदवारी फिर्ता लिने निर्णयबारे उनले भनेका छन्, “मसँग विभिन्न नयाँ–पुराना दलका साथीहरूले अब तपाईं सबैको साझा व्यक्तित्वका रूपमा रहनु उपयुक्त हुन्छ भनेर सुझाव दिनुभयो। देशको तरल अवस्थामा चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा राजनीतिक दलहरू र भोलि बन्ने सरकारलाई विभिन्न ढंगले सल्लाह–सुझाव दिएर भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने आग्रह आयो। सबै साथीहरूको चाहनाअनुसार संसद् बाहिरै बसेर दलहरूलाई सघाउने र आवश्यक परे देशकै विभिन्न रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त ठानेर मैले मनोनयन पत्र फिर्ता लिएको हुँ।”
स्पष्ट शब्दमा नखुले पनि उनको अभिव्यक्तिबाट अहिले चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ उनी झुकिएको संकेत मिल्ने विश्लेषण भइरहेको छ। आगामी दिनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उनी रास्वपासँग नजिकिने सम्भावना रहेको भन्दै राजनीतिक वृत्तमा चर्चा बढेको छ।
यसैबीच आज दिउँसो १२ः५६ बजे रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिएर रास्वपालाई सहयोग गर्न खुला आह्वान गरेका छन्। डा. बाबुराम भट्टराई हालसम्म पनि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक नै छन् । यही पार्टीबाट उनले चुनावमा उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता लिने घोषणा गर्दा उनले प्रलोपा परित्याग नगरेको स्पष्ट छ । उनको अभिव्यक्तिमा रास्वपा र प्रलोपासँग समदूरी कायम राख्न खोजिएको झल्किए पनि वास्तविकतामा भने उनले प्रलोपाबाट चुनाव जित्ने सम्भावना न्यून रहेको आँकलन गरिसकेको निकटवर्तीहरू बताउँछन् ।
के डा. भट्टराईले निशर्त रूपमा मनोनयन फिर्ता लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्न तयार भएका हुन् ? राजनीतिमा एकपक्षीय सहमति दुर्लभ हुने भएकाले स्रोतहरूका अनुसार चुनावपछि बन्न सक्ने रास्वपा नेतृत्वको सरकारमा बाबुराम सल्लाहकारको भूमिकामा रहने विषयमा भद्र समझदारी भएको छ ।
त्यसैगरी, डा. भट्टराईले भावी राष्ट्रपतिको आकांक्षा व्यक्त गरे पनि रास्वपाले यसमा कुनै प्रतिबद्धता नजनाएको स्रोतको भनाइ छ ।
यो समझदारीको पृष्ठभूमि लामो समयदेखिको संवादसँग जोडिएको छ । करिब दुई वर्षअघि नै रास्वपा र डा. भट्टराईबीच सहकार्यबारे छलफल चलेको थियो । पार्टीभित्र संरक्षक वा सल्लाहकार पद सिर्जना गर्ने विषयमा नेतृत्व सकारात्मक देखिए पनि भट्टराईका केही विचार–दृष्टिकोणलाई लिएर निर्णयमा पुग्न नसकिएको रास्वपाका एक पदाधिकारीले बताएका छन् ।
डा. भट्टराईले अघि सारेको नेसपा (नयाँ शक्ति) पार्टी प्रभावशाली बन्न नसकेपछि उनले पछि जनार्दन शर्मासँग सहकार्य गर्दै प्रलोपाको गठन गरेका थिए । बाबुराम संरक्षक रहने गरी बनेको यो दलले पनि उल्लेखनीय प्रभाव नदेखाएपछि उनी पुनः राजनीतिक विकल्प खोज्ने दबाबमा परेको बताइन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस