रोल्पामा वर्षमानलाई टक्कर दिन कांग्रेसले उतार्यो युवा अर्थविद् वलीलाई
तत्कालीन नेकपा (माओवादी) को आधार क्षेत्र मानिने रोल्पामा नेपाली कांग्रेसले नेकपाका वरिष्ठ नेता वर्षमान पुनसँग प्रतिस्पर्धा गर्न अर्थशास्त्री डा. सुदनकुमार वलीलाई उम्मेदवार बनाएको छ। विगतमा अर्थमन्त्रीसमेत भइसकेका पुनविरुद्ध कांग्रेसले यसपटक नीतिनिर्माणमा दख्खल राख्ने युवा विज्ञलाई मैदानमा उतारेको हो।
कांग्रेसका उम्मेदवार डा. वली मानव पूँजी विकास, स्थानीय अर्थतन्त्र र सार्वजनिक नीतिका क्षेत्रमा अनुभवयुक्त छन्। चीनको बेइजिङबाट पीएचडी गरेका ३४ वर्षीय वलीले संघ तथा प्रदेश सरकारसँग सहकार्य गर्दै विभिन्न नीति निर्माण प्रक्रियामा काम गरिसकेका छन्। उनले युवा तथा खेलकुद मन्त्रालयमा नीति विज्ञ र सिँचाइ मन्त्रालयमा सल्लाहकारको भूमिकामा समेत कार्य गरेका थिए।
त्यस्तै, लुम्बिनी प्रदेश योजना आयोगका सदस्यका रूपमा दुई वर्षभन्दा बढी काम गरेका वली कांग्रेसको नीति प्रशिक्षण तथा अनुसन्धान विभागका सदस्यसमेत हुन्। संघीय सरकारको राष्ट्रिय खेलकुद तथा पर्यटन नीतिको मस्यौदा तयार पार्ने अनुभवका आधारमा आफू विधायिकामा जान इच्छुक भएको उनी चुनावी सभामा बताउँदै आएका छन्।
‘भावनामा बग्नु हुँदैन, जसको जिम्मेवारी जे हो, त्यही भूमिकामा काम गर्नुपर्छ,’ वली भन्छन्, ‘नीति निर्माणको मस्यौदा तयार गर्ने काममा संलग्न भएकाले संघीय संसदमा पुग्न चाहेको हुँ।’
रोल्पामा नेकपा नेता वर्षमान पुनसँग नेकपा एमालेका पूर्व पोलिटब्यूरो सदस्य गोकुलप्रसाद घर्ती पनि प्रतिस्पर्धामा छन्। ५२ वर्षीय घर्ती विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। उनी २०४६ सालमा अनेरास्ववियुको सदस्य बनेका थिए भने २०६३ सालमा महासचिव भएका थिए। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका घर्ती संविधानसभा सदस्यसमेत रहिसकेका छन्।
विघटित प्रतिनिधिसभाको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि यसपटक रोल्पामा उम्मेदवारी दिएको छ। राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका ३८ वर्षीय बालराम थापालाई पार्टीले उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा रोल्पामा रास्वपा समानुपातिकतर्फ १ हजार ९०४ मतसहित चौथो स्थानमा थियो।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ रोल्पाबाट उम्मेदवारका रूपमा एकल सिफारिस भए पनि अन्ततः चुनावी प्रतिस्पर्धाबाट पछि हटेका थिए। मनोनयन दर्ताको दिन माघ ६ गते उनले चुनावमा सहभागी नहुने निर्णय गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस