गजुरेलको निष्कासनप्रति खनालको कडा असन्तोष, प्रचण्डसँग आकस्मिक बैठकको माग
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेता हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरिएको विषयप्रति कडा असन्तुष्टि जनाएका छन्। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै खनालले गजुरेललाई स्पष्टीकरण दिने मौका नदिई गरिएको कारबाहीप्रति आपत्ति जनाउँदै पार्टीभित्र छलफल नै नगरी निर्णय गरिएको बताएका छन्।
खनालले लेखेका छन्, “एकाध व्यक्तिहरूको इच्छाबमोजिम ठूल्ठूला निर्णय गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेताहरूलाई स्पष्टीकरणको अवसर नदिइकन पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारीसमेत नहुनु र एकैचोटि सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटना हुन्।”
उनले उक्त कारबाही तत्काल स्थगित गर्न माग गर्दै पार्टीलाई संस्थागत बनाउने प्रक्रियामा जोड दिएका छन्। साथै गजुरेलसहित नेतृत्वदायी तहका नेताहरूको आकस्मिक बैठक बोलाएर घटनाक्रमबारे गम्भीर छलफल गर्नुपर्ने बताएका छन्।
खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै भनेका छन्, “किन यस्ता कदम चाल्नुपर्यो भन्ने विषयमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, घटनाक्रमको समीक्षा गर्न र अधिनायकवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न म जोडदार माग गर्दछु।”
उनले आगामी आमनिर्वाचन सन्निकट रहेको अवस्थामा देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूबीच दरो एकताको आवश्यकता रहेको उल्लेख गर्दै पार्टीभित्र संस्थागत निर्णय प्रक्रिया अझै विकसित हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन्।
खनालले चेतावनी दिँदै भनेका छन् कि यदि यस्ता कदम तत्काल सच्याइएन भने पार्टी एकीकरणको प्रक्रिया पूरा नहुँदै नेकपा विशृंखलातर्फ जाने खतरा बढ्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस