बझाङमा कांग्रेस–एमाले आन्तरिक कलहमा अल्झिँदा नेकपाका मीन कुँवर जित्ने आँकलन
फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा देशभर चुनावी चहलपहल तीव्र बन्दै गएको छ। बझाङमा पनि सबै राजनीतिक दलहरू प्रचार–प्रसारमा सक्रिय हुनुपर्ने समय भए पनि मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमाले भने आन्तरिक विवादमै अल्झिएका छन्।
एमालेभित्र सबैभन्दा बढी कलह देखिएको छ। पार्टीको सचिवालय बैठकले बझाङका लागि अफिलाल ओखेडालाई उम्मेदवार बनाउने निर्णय गरे पनि पछि ऐन महरलाई टिकट खोसेपछि विवाद चुलिएको हो। यो निर्णयपछि काठमाडौंमा सुरु भएको एमाले भित्रको विवाद बझाङसम्म फैलिएको छ। हालसम्म पनि एमाले एकजुट हुन नसकेको र अफिलाल ओखेडाका समर्थकहरूले ऐन महरलाई मतदान नगर्न सामाजिक सञ्जालमार्फत अपिल गरिरहेको अवस्था छ।
उता नेपाली कांग्रेस बझाङमा पनि एकता कायम हुन सकेको छैन। जिल्लामा लामो समयदेखि सक्रिय नेताहरूलाई टिकट नदिई गगन पक्षका नेता प्रकाश रसाइलीले शक्ति र पहुँचका आधारमा टिकट ल्याएको आरोप लगाउँदै स्थानीय नेताहरू असन्तुष्ट बनेका छन्। यसका कारण कांग्रेस र एमाले दुवै दल प्रचारमा जाँदा पूर्ण टिम परिचालन गर्न नसकिरहेको बताइन्छ।
यही परिस्थितिको प्रत्यक्ष लाभ नेकपा उम्मेदवार मीनबहादुर कुँवरले लिन सक्ने आँकलन गरिएको छ। नेकपाभित्र आन्तरिक विवाद नरहेको र पार्टीका कार्यकर्ताहरू जिल्लाभर घरदैलो अभियानमा जुटिरहेको बताइएको छ। पार्टीका नेताहरूका अनुसार करिब ६० प्रतिशत घरधुरीमा घरदैलो सम्पन्न भइसकेको छ।
जिल्ला सदरमुकाममा यसपटकको निर्वाचन मीनबहादुर कुँवरको पक्षमा जाने चर्चा व्यापक रूपमा फैलिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस