ठेकेदारलाई झुन्ड्याएर सडक बन्दैन : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले ठेकेदारलाई धम्क्याएर वा दण्डित गरेर मात्र सडक निर्माण समयमै सम्पन्न नहुने बताएका छन्। सडक निर्माण सुधारका लागि कानुनी व्यवस्था परिवर्तन आवश्यक रहेको उनले जोड दिएका छन्।
सर्लाही–४ गोडैतामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले सडक निर्माणमा विद्यमान कानुन नै मुख्य बाधा रहेको बताए। उनले कम्तीमा ४१ वटा कानुनका कारण सडक निर्माण प्रक्रिया ढिलो हुने गरेको उल्लेख गरेका थिए ।
उनले भने, “नेपालमा सस्तोमा काम गर्छु भन्नेले ठेक्का पाउने होइन, गुणस्तरीय र छिटो काम गर्नेले ठेक्का पाउने कानुन नबनेसम्म सडक समयमै बन्दैन। अहिले जसले सस्तो प्रस्ताव गर्छ, उसैले ठेक्का पाउँछ, त्यसैले काम ढिलो हुन्छ।”
ऊर्जा तथा जलविद्युत आयोजना निर्माणमा पनि अत्यधिक झन्झट रहेको उल्लेख गर्दै उनले एक प्रवर्द्धकले अनुमति लिएपछि २७ वटा निकाय धाउनुपर्ने बाध्यता रहेको बताए।
यस क्रममा उनले बालेन शाहलाई लक्षित गर्दै ठेकेदारलाई रुखमा बाँध्ने वा उल्टो झुन्ड्याउनेजस्ता अभिव्यक्तिले समस्या समाधान नहुने टिप्पणी गरे।
उनले सडक निर्माण समयमै सम्पन्न गराउन कानुन सुधार र प्रणालीगत परिवर्तन आवश्यक रहेको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस