रास्वपाले चुनाव भाँड्न खोज्यो: नेकपा एमाले
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव भाँड्ने प्रयास गरेको गम्भीर आरोप लगाएको छ।
शनिबार जारी विज्ञप्तिमा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रास बढ्दै गएको उल्लेख गरेको छ। चुनाव भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउने विषयमा सरकारले भरपर्दो सुरक्षा व्यवस्था गर्न नसकेको आरोप पनि एमालेले लगाएको छ।
एमालेले देशभर सूर्य चिन्ह अंकित झण्डा जलाउने, पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने र चुनावी वातावरण बिगार्ने गतिविधि तीव्र भएको दाबी गरेको छ। यस्ता गतिविधि मुलुकलाई चुनावी द्वन्द्वमा धकेल्ने गम्भीर षड्यन्त्र भएको भन्दै सरकारले शान्ति–सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग गरिएको छ।
विज्ञप्तिमा एमालेले फागुन २१ को निर्वाचनलाई ‘देश बनाउने र देश जलाउनेबीचको जनमत संग्रह’ को रूपमा लिएको उल्लेख गर्दै कथित परिवर्तनको नारामा ‘भोट फर चेन्ज’ अभियान कमजोर भएपछि अभद्र व्यवहार र फेक सर्वेक्षण सार्वजनिक गर्ने काम बढेको आरोप लगाएको छ।
चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि रास्वपाले विभिन्न जिल्लामा दलका झण्डा र चुनाव चिन्ह जलाउने तथा अशान्ति फैलाउने गतिविधि गरेर निर्वाचन प्रभावित पार्न खोजेको एमालेको दाबी छ।
रौतहटको गौर क्षेत्रमा जारी कर्फ्यूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै एमालेले समुदायबीच द्वन्द्व सिर्जना गर्ने प्रयास भएको आरोप लगाएको छ। यस्तो वातावरणले मतदाताको सुरक्षित मतदान अधिकारमा असर पर्ने एमालेको ठहर छ।
निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्दै गएको भन्दै एमालेले होली पर्वको अवसरमा दल विशेषको चिन्ह र तस्बिर अंकित टिसर्ट वितरण गरिएको घटनाप्रति पनि आपत्ति जनाएको छ। निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोगको भूमिका कमजोर देखिएको भन्दै एमालेले गम्भीर आशंका व्यक्त गरेको छ।
एमालेले शान्ति–सुरक्षा सुनिश्चित गरी निर्वाचनका लागि सहज वातावरण बनाउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।





तपाईको प्रतिक्रिया दिनुहोस