नेपालमा मिसाइलको धुँवा नछिरोस् : ओली
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् भन्ने कामना गरेका छन्। मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमण र युद्धको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
ओलीका अनुसार मध्यपूर्वका विभिन्न देशमा रहेका लाखौँ नेपाली अहिले आपत र कोलाहलको अवस्थामा छन्। ती देशमाथि आकाशबाट बर्सिएका मिसाइलका धुँवाका दृश्यले आफूलाई निद्रा नलागेको उल्लेख गर्दै उनले लेखेका छन्, “ती देशमा रहेका लाखौँ नेपाली आपत र कोलाहलमा छन्, तिनका परिवार यहाँ पलपल छट्पटाएर बस्न बाध्य छन्।”
उनले खुला विश्व व्यवस्थामा रोजगारी र अवसरका लागि नागरिकहरू संसारभर आवतजावत गर्नु स्वाभाविक भएको बताए। तर युद्ध र भूराजनीतिक स्वार्थको चपेटा अस्वाभाविक र खतरनाक हुने उनको भनाइ छ। “ती देशहरू पनि युद्ध चाहँदैनथे, तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपरेको हो,” उनले उल्लेख गरेका छन्।
अध्यक्ष ओलीले नेपालले अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको भन्दै सतर्कता र धैर्यता अपनाउन सबैलाई आह्वान गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस