पैसा बाँडिरहेका कांग्रेसका कार्यकर्ता पक्राउ
मतदातालाई प्रभावित पार्न नगद वितरण गर्न लागेको आशंकामा प्रहरीले मोरङको रतुवामाईबाट नेपाली कांग्रेसका तीन कार्यकर्तालाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ४ लाख ४९ हजार रुपैयाँ नगद बरामद गरिएको छ। पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई-९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपाली सिजुवा रहेका छन्। उनीहरूलाई रतुवामाई-७ जामवाढीबाट गयराति करिब साढे ९ बजे नियन्त्रणमा लिइएको थियो।
प्रहरीले को.१ च ७३३८ नम्बरको कार रोकेर चेकजाँच गर्दा गाडीभित्र उक्त नगदसहित नेपाली कांग्रेसका पम्प्लेट, ब्यानर तथा नमूना मतपत्र फेला पारेको जनाएको छ।
प्रहरी स्रोतका अनुसार घिमिरे कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव, लिम्बू महाधिवेशन प्रतिनिधि र नेपाली क्रियाशील सदस्य हुन्।
मोरङका प्रहरी प्रमुख एसपी कविद कटवालले सोधपुछ तथा आवश्यक चेकजाँचपछि उनीहरूलाई छाडिएको जानकारी दिए। उनका अनुसार उक्त गाडी भने नियन्त्रणमै राखिएको छ र घटनाबारे निर्वाचन कार्यालयलाई पत्राचार गरिएको छ।
रतुवामाई मोरङ- २ मा पर्छ । यहाँ कांग्रेसका डा. मिनेन्द्र रिजाल, एमालेका दिलिप बगडिया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णकुमार कार्कीलगायत उम्मेदवार छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस