उम्मेदवारी नै खारेज भएका रास्वपाका साह नै अग्रस्थानमा, मतगणनामा अन्योल
धनुषा क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न घण्टीमा २०,९१६ मत परेको छ, जुन अन्य उम्मेदवारको मतभन्दा करिब १३ हजार बढी हो।
तर, यस क्षेत्रमा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ। उम्मेदवारी खारेज भएपछि मतगणनाको परिणाम के हुने भन्ने विषयमा अनिश्चितता सिर्जना भएको छ।
साहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिसकेका छन्। हालसम्म अदालतले कुनै आदेश जारी गरेको छैन भने पेसी २४ फागुनमा तोकिएको छ।
मतगणना अनुसार, उम्मेदवारी कायम रहेका उम्मेदवारहरूमध्ये नेकपा (नेकपा) का मातृकाप्रसाद यादवले ७,५६६ मत, नेपाली कांग्रेसका रामपल्टन साहले ७,४२८ मत र नेकपा (एमाले)का रामचन्द्र मण्डलले ६,६०५ मत प्राप्त गरेका छन्।
उम्मेदवारी खारेजको कारण, घण्टी चुनाव चिह्नमा परेको मत कति परिणाममा गणना हुने भन्ने विषयमा निर्वाचन आयोगले स्पष्ट निर्देशन जारी गरेको छ। आयोगले तीन बुँदे निर्देशन जारी गर्दै, घण्टीमा स्वस्तिक छाप लागेका मतपत्र छुट्टै लगत राखेर, बाँकी मतपत्रको गणना गरी परिणाम प्रकाशन गर्न भनेको छ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना प्रक्रिया जारी छ। तर, सबैभन्दा बढी मत परेको घण्टी चुनाव चिह्नको मत कसरी परिणाममा समावेश हुने भन्ने विवादले यस क्षेत्रको मतगणनालाई अन्योलपूर्ण बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस