आत्मसमीक्षा बिना अगाडि बढ्न सकिदैन: नेता सहयात्री
नेपाली कम्युनिस्ट पार्टीका नेता सरल सहयात्रीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीभित्र गम्भीर आत्मसमीक्षा र वैचारिक पुनर्संरचनाको आवश्यकता औंल्याएका छन्।
सिन्धुपाल्चोकमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई नयाँ ढङ्गले अघि बढाउन महाधिवेशनमार्फत देशव्यापी समीक्षा अनिवार्य रहेको बताए।
उनले भने, “वडादेखि केन्द्रसम्मको सङ्गठनात्मक संरचना, प्रणाली र कार्यविधिमा सुधार अपरिहार्य छ। नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण प्रभावकारी रूपमा भएको छ वा छैन भन्ने विषयमा व्यापक बहस हुनुपर्छ। हाम्रो विचार, सङ्गठन र नेतृत्व विकासबारे महाधिवेशनमार्फत गम्भीर समीक्षा गर्नु आजको आवश्यकता हो।”
सहयात्रीले राष्ट्रिय, प्रदेश र जिल्ला तहमा बहसको वातावरण सिर्जना गर्दै स्पष्ट दिशानिर्देश गर्न पार्टी सक्षम रहेको बताए। वर्तमान राजनीतिक अवस्थाबारे कार्यकर्ताहरूलाई नआत्तिन आग्रह गर्दै उनले जनमतको सम्मान गर्नुपर्नेमा जोड दिए।
उनले हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जनसमर्थनलाई स्वीकार्दै त्यसको सकारात्मक मूल्याङ्कन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । साथै, सरकारका केही निर्णयहरूले अपेक्षित सकारात्मक सन्देश दिन नसकेको टिप्पणी पनि गरे।
लोकतन्त्रप्रति प्रतिबद्ध सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गर्दै उनले गणतन्त्र र परिवर्तनको आत्मसम्मान पार्टीभित्रै सुरक्षित रहेको दाबी गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस