Techie IT
२०८२ चैत्र १२, बिहीबार

यस्तो छ कांग्रेसको महाधिवेशन क्यालेन्डर


नेपाली कांग्रेसले १५औँ महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णयअनुसार तालिका सार्वजनिक गरिएको हो।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकका लागि विशेष अभियान सञ्चालन गरिनेछ। यस अवधिमा केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइने र १ सय ६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइनेछ।

आगामी वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म देशभरका ६ हजार ७ सय ४३ वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ। प्रत्येक सदस्यले आफू सदस्यता रहेको वडामै अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

वैशाख महिनाभरि वडास्तरमा एकमहिने सदस्यता अद्यावधिक अभियान सञ्चालन हुनेछ। कार्यतालिकाअनुसार जिल्लास्तरीय प्रारम्भिक छानबिन समितिमा परेका उजुरीमाथि छानबिन गरी जेठ मसान्तसम्म केन्द्रमा पठाउनुपर्नेछ। केन्द्रले असार १५ गतेभित्र सदस्यताको अन्तिम टुङ्गो लगाउने समयसीमा तोकेको छ।

त्यसैगरी, अद्यावधिक क्रियाशील सदस्यहरूको नामावली २०८३ असार मसान्तसम्म केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ। केन्द्रीय सभापतिबाट प्रमाणित अन्तिम सूची अधिवेशन प्रक्रिया सुरु हुनुअघि निर्वाचन समितिलाई उपलब्ध गराइने पार्टीले जनाएको छ।

कार्यतालिकाअनुसार भदौ २ गते वडा अधिवेशन सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ भने भदौ ७ गते गाउँ/नगर अधिवेशन हुनेछ। भदौ १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गरिनेछ।

यस्तै, असोज २ र ३ गते जिल्ला अधिवेशन सम्पन्न गरिने र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन आयोजना गरिनेछ।

पार्टीले महाधिवेशनसँग सम्बन्धित अन्य कार्यक्रमसहित कुल १६ वटा निर्णयहरू पनि गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट