अर्थ बुझेका वाग्लेको हातमा अर्थ मन्त्रालय
नेपालको नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले प्रधानमन्त्रीपछिको दोस्रो वरियतासहितको अर्थमन्त्री पदमा डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको छ।
नेपालमा सधैं चल्ने बहस अनुसार, “अर्थतन्त्र बुझेको व्यक्तिले अर्थ मन्त्रालयको नेतृत्व गर्नुपर्छ।” यही परिप्रेक्ष्यमा डा. वाग्लेको नियुक्ति राजनीतिक र आर्थिक विश्लेषकहरूद्वारा स्वागतयोग्य ठहरिएको छ।
डा. वाग्ले वि. सं. २०३१ सालमा गोरखाको बुङ्कोटमा जन्मिएका थिए। प्रारम्भिक शिक्षा काठमाडौंको बुढानीलकण्ठ स्कुलबाट हासिल गरेपछि उनले बेलायतस्थित लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातक अध्ययन पूरा गरेका थिए ।
उनले हार्वर्ड विश्वविद्यालयबाट जनप्रशासन र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरेका छन् भने अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि (PhD) सम्पन्न गरेका छन्।
डा. वाग्लेले २५ वर्षभन्दा बढी समय विकास अर्थशास्त्रीको रूपमा विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरेका छन्। उनी संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) र विश्व बैंकमा प्रमुख आर्थिक सल्लाहकारका रूपमा कार्यरत थिए। वि. सं. २०७७-२०७९ मा उनले न्युयोर्कस्थित यूएनडीपीमा एसिया-प्रशान्त क्षेत्रका ३६ देशको आर्थिक सल्लाहकारको जिम्मेवारी सम्हाले।
वि. सं. २०७१ मा स्वदेश फर्किएर डा. वाग्ले नेपाली काँग्रेसको सिफारिसमा राष्ट्रिय योजना आयोगका सदस्य बनेका थिए । २०१४-२०१८ सम्म दुईपटक आयोगको सदस्य रहँदा वि. सं. २०७४ मा उपाध्यक्ष नियुक्त भएर भूकम्पपछिको पुनर्निर्माण र १५औँ पञ्चवर्षीय योजनाको आधारपत्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरे।
डा. वाग्लेले प्रारम्भमा नेपाली कांग्रेससँग राजनीतिक सम्बन्ध राखेका थिए । वि. सं. २०७९ चैतमा कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे। पार्टी प्रवेशपछि उनी उपसभापति बने र अर्थनीति विभागको नेतृत्व पनि सम्हाले। संसदीय यात्रा उपनिर्वाचनबाट सुरु भयो र फागुन २१ को निर्वाचनमा पुनः निर्वाचित भए।
डा. वाग्ले परम्परागत नेताहरूभन्दा फरक शैलीका राजनीतिज्ञ हुन्। उनी संसद र सार्वजनिक मञ्चमा बारम्बार भन्छन्, “सांसदको काम खुद्रा योजना बाँड्ने नभई राष्ट्रिय नीति बनाउने हो।”
तर अर्थ मन्त्रालय सम्हाल्ने जिम्मेवारी सजिलो छैन। न्यून राजस्व सङ्कलन, कमजोर खर्च क्षमता, बढ्दो सार्वजनिक ऋण, सीमित स्रोत र उच्च जनअपेक्षाबीच सरकारलाई आर्थिक सुधार र विकास निर्माणमा तीव्रता दिनुपर्ने चुनौती छ।



तपाईको प्रतिक्रिया दिनुहोस