Techie IT
२०८३ असार ६, शनिबार

माधव नेपालको भ्रष्टाचार मुद्दा के भैरहेको छ ? कहिले हुन्छ अर्को सुनुवाई?


नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको पेसी चैत २७ गतेपछि मात्रै चढ्ने भएको छ। विशेष अदालत स्रोतका अनुसार सबै पक्षलाई सो मितिसम्म बहसनोट पेश गर्न आदेश दिइएकाले त्यसपछि मात्र सुनुवाइको मिति तोकिनेछ।

विशेष अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बहसनोट पेश गर्न निर्देशन दिएको हो। नेपालका तर्फबाट पैरवी गरिरहेका अधिवक्ता डेकेन्द्रप्रसाद सुवेदीले चैतको अन्तिम वा वैशाखको पहिलो साता पेसी चढ्ने सम्भावना रहेको बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। भूमिसम्बन्धी ऐन, २०२१ विपरीत काम भएको आरोपमा मुद्दा अघि बढाइएको हो।

उक्त ऐनअनुसार उत्पादनमूलक उद्योग वा व्यवसायका लागि सरकारले जमिनको हदबन्दी छुट दिनसक्ने व्यवस्था भए पनि त्यस्तो जमिन बिक्री गर्न पाइँदैन। तर, नेपाल प्रधानमन्त्री रहेको बेला मन्त्रिपरिषद्ले २०६६ माघ १८ मा निर्णय गरेर त्यही जमिन बिक्री गर्न अनुमति दिएको आरोप छ।

यस प्रकरणमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो, जरिवाना र सजायको मागदाबी गरिएको छ। पतञ्जली योगपीठले जडीबुटी उत्पादन तथा आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा उक्त जमिन खरिद गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट