हङकङबाटै देउवाको गर्जन: अतिरञ्जनापूर्ण समाचारको भ्रममा नपर्नू
आज अकुत सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक मुख खोलेका छन्। हङकङमा 'उपचाररत' रहेकै अवस्थामा बुधबार राति सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै देउवाले आफू र आफ्नो परिवारविरुद्ध भ्रामक प्रचारबाजी गरिएको दाबी गरेका हुन्।
देउवाले आफू र परिवारमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान सुरु गरेको जानकारी सञ्चार माध्यमबाट मात्रै पाएको बताएका छन्। उनले लेखेका छन्, "म र मेरो परिवारको सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झूटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु।"
देउवा दम्पती अहिले नेपालमा छैनन्। उनीहरू स्वास्थ्य उपचारका लागि भन्दै हङकङमा रहेकै समयमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। यसबारे देउवाले भनेका छन्, "अहिले हामी स्वास्थ्य उपचारका लागि विदेशमा छौँ र उपचार जारी छ। वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ।" उनले अतिरञ्जित विवरणहरूको भ्रममा नपर्न सबैमा अपिल समेत गरेका छन्।
यता गृह मन्त्रालय स्रोतले भने देउवा दम्पतीमाथि पक्राउ पुर्जी जारी भइसकेको पुष्टि गरेको छ। गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुँदा जलेको अवस्थामा फेला परेका नोटका भिडियो सार्वजनिक भएपछि यो प्रकरणले उग्र रूप लिएको थियो। सोही घटनालाई आधार बनाएर सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको हो।
देउवाले आफ्नो राजनीतिक योगदानको चर्चा गर्दै सार्वजनिक पदमा रहँदा सधैँ सम्पत्ति विवरण पेस गरेको दाबी गरेका छन्। उनले लेखेका छन्, "मेरो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको छ।"
आफू गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन ल्याएको स्मरण गराउँदै देउवाले आफू सधैँ सुशासन र पारदर्शिताको पक्षमा रहेको जिकिर गरेका छन्। तर, अस्वाभाविक कारोबार र सम्पत्ति शुद्धीकरणको गम्भीर आरोपमा पक्राउ पुर्जी नै जारी भइसकेको अवस्थामा उनको यो स्पष्टीकरणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
हेर्नुहोस देउवाको स्टाटस-
आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु,
म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ ।
म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।
नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।
मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ ।
भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।
स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।
बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।
जय नेपाल।
शेरबहादुर देउवा



तपाईको प्रतिक्रिया दिनुहोस