Techie IT
२०८३ असार ५, शुक्रबार

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्ती र पक्राउ गर्न जेनजीको माग


जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग गरेको छ। पदमा रहँदा निष्पक्ष छानबिन सम्भव नहुने भन्दै मुभमेन्टले उनलाई पदमुक्त गरी कानुनी प्रक्रियाअनुसार छानबिन अघि बढाउनुपर्ने बताएको हो।

मुभमेन्टका अनुसार पदमै बसेर आफ्नैविरुद्ध छानबिन गर्नु ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने र यसले न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा मन्त्री पदमा रहँदै आफूमाथि छानबिन हुनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविरुद्ध हुने उल्लेख गरिएको छ।

यस्तै, बालेन्द्र शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै मुभमेन्टले मन्त्रिपरिषद् गठन र मन्त्री नियुक्तिमा परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउन आग्रह गरेको छ। हचुवाका भरमा मन्त्री नियुक्ति र बर्खास्त गर्ने प्रवृत्ति अस्वीकार्य रहेको विज्ञप्तिमा जनाइएको छ।

मुभमेन्टले वर्तमान सरकारलाई ‘७६ जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधि’ भएको स्मरण गराउँदै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिएको छ। सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने स्पष्ट पारिएको छ।

विज्ञप्तिमा भनिएको छ, “क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक विषय हो। हचुवाको भरमा मन्त्री नियुक्ति र हटाउने कच्चा खेल अब स्वीकार्य छैन। जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनै पर्छ।”

मुभमेन्टले न्याय प्रक्रिया स्वतन्त्र, निष्पक्ष र दबाबमुक्त हुनुपर्नेमा जोड दिँदै दोषी जो–कोही भए पनि कानुनी कठघरामा उभिनै पर्ने बताएको छ। पद, शक्ति वा राजनीतिक संरक्षणका आधारमा कसैलाई उन्मुक्ति दिन नसकिने र जनताको अपेक्षा तथा शहीदहरूको सपनामाथि खेलबाड गर्न नपाइने चेतावनी पनि दिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट