Techie IT
२०८३ वैशाख १०, बिहीबार

गृहमन्त्री सुधन गुरुङको राजीनामा स्वागतयोग्य - जेनजी अगुवा


गृहमन्त्रीबाट सुधन गुरुङको राजीनामालाई “गम्भीर कानुनी उल्लंघन र नैतिक प्रश्नपछि आएको स्वागतयोग्य कदम” भन्दै जेनजी आन्दोलनले सकारात्मक रूपमा लिएको छ।

आन्दोलनका अगुवा मिराज ढुंगाना, अर्जुन शाही, रवि किरण हमाल, जस्मिन ओझा, सुनिल सिंह, ठाकुरनाथ गौतम, विजय शाह र विजय अधिकारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनासँगै वर्तमान सरकार जेनजी आन्दोलनको भावना, म्यान्डेट र प्रतिनिधित्वबाट पूर्ण रूपमा विच्छिन्न भएको दाबी गरिएको छ।

वक्तव्यमा सत्ताको केन्द्रमा रहेको शक्ति सन्तुलनको संवेदनशीलता पुनः उजागर भएको उल्लेख गर्दै सरकारलाई वास्तविक रूपमा सफल र स्थिर बनाउन आन्दोलनका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता अपरिहार्य रहेको औंल्याइएको छ।

त्यस्तै, बालेन्द्र शाहको नेतृत्वलाई सुदृढ गर्न आन्दोलनका मूल प्रतिनिधिहरूलाई निर्णय प्रक्रियामा समावेश गर्नुपर्नेमा जोड दिइएको छ। अन्यथा राज्यले प्राप्त गरेको जनमत अल्पकालीन र क्षय हुने खतरा रहेको चेतावनीसमेत दिइएको छ।

विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र बालेन शाहको नेतृत्वलाई सामान्य राजनीतिक संक्रमण नभई “युवाहरूको बलिदान, विद्रोही संघर्ष र जेनजी पुस्ताको सामूहिक चेतनाको परिणाम”का रूपमा चित्रण गरिएको छ।

आन्दोलनका अगुवाहरूले भ्रष्टाचारमुक्त, जवाफदेही र समृद्ध नेपाल निर्माणलाई आफ्नो स्पष्ट म्यान्डेट भएको उल्लेख गर्दै त्यसलाई केवल नैतिक समर्थनमा सीमित राख्नु आन्दोलनप्रतिको विश्वासघात हुने बताएका छन्।

साथै, बालेन्द्र शाह को नेतृत्वमा जेनजी आन्दोलनका प्रतिनिधिहरू समेटिएको संयुक्त सरकार सञ्चालन संरचना गठन गर्न स्पष्ट माग गरिएको छ। पुरानो राजनीतिक वर्गको भ्रष्टाचार, नातावाद र सत्ता–केन्द्रित संस्कृतिलाई चुनौती दिएको आन्दोलनलाई अब संस्थागत गर्नुपर्ने दायित्व वर्तमान नेतृत्वमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

यसैबीच आन्दोलनले सरकारलाई मार्गदर्शन गर्न उच्चस्तरीय निर्देशन समिति गठन गरेको जनाएको छ। समितिमा मिराज ढुंगाना, अर्जुन शाही, रवि किरण हमाल, प्रवेश दाहाल, सुनिल सिंह, ठाकुरनाथ गौतम (सहित परिवार) र विजय अधिकारी (घाइते) रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट