जेनजीले जलाएको बालकोटको निवास ओलीले पुनर्निर्माण नगर्ने
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित आफ्नो निवास पुनर्निर्माण नगर्ने निर्णय गरेका छन्। कुनै समय नेपालको राजनीतिको केन्द्रबिन्दु मानिएको उक्त घरको बार्दलीमा बसेर उनले नेता–कार्यकर्तासँग नियमित छलफल गर्ने गर्थे, जसले ‘बालकोटको बार्दली’ भन्ने प्रतीकात्मक पहिचान नै बनाएको थियो।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको उक्त घर अब पुनःनिर्माण नगर्ने जानकारी ओली दम्पतीले आफ्ना निकटवर्तीहरूलाई दिएका छन्। स्रोतका अनुसार घरको संरचना यति कमजोर अवस्थामा पुगेको छ कि सामान्य मर्मतसम्भार गरेर बस्न सकिने अवस्था छैन।
सार्वजनिक सम्पत्ति विवरण अनुसार बालकोटमा करिब डेढ रोपनी (२४ आना) जग्गा रहेको छ। केहीले चार रोपनीसम्म भएको दाबी गरे पनि ओलीनिकट स्रोतले त्यसलाई अस्वीकार गरेका छन्। उक्त जग्गा ओलीको नाममा नभई उनकी पत्नी राधिका शाक्यको नाममा रहेको छ। उनले नेपाल राष्ट्र बैंकमा ३३ वर्ष सेवा गर्दा आर्जित आम्दानीबाट २०५० को दशकमा जग्गा खरिद गरिएको र २०६०/६१ सालमा घर निर्माण गरिएको बताइन्छ।
ओलीले २०६३ सालमा उपप्रधानमन्त्री हुँदा बुझाएको सम्पत्ति विवरणमा उक्त घर निर्माणका लागि एभरेष्ट बैंकबाट १० लाख र नेपाल बैंक लिमिटेडबाट ६ लाख रुपैयाँ ऋण लिएको उल्लेख थियो।
सन्तान नभएका ओली दम्पतीले विसं २०७७ मा आफू प्रधानमन्त्री रहेकै बेला बालकोटस्थित घर–जग्गा मृत्युपश्चात नेपाल सरकारलाई दान गर्ने घोषणा गरेका थिए। हाल स्वास्थ्य अवस्था कमजोर रहनुका साथै गुण्डुमा नयाँ घर निर्माण भइरहेको कारण पनि बालकोटको घर पुनर्निर्माण नगर्ने निर्णयमा पुगेको बताइएको छ।
ओलीनिकट एक नेताका अनुसार, “पुरानो संरचना पूर्ण रूपमा क्षतिग्रस्त छ, त्यसलाई मर्मत गरेर बस्ने अवस्था छैन। नयाँ घर बनाउने हो भने पूर्ण रूपमा नयाँ निर्माण गर्नुपर्छ।” अब उक्त सम्पत्तिको भविष्यबारे निर्णय नेपाल सरकारले गर्ने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस